काठमाडौँ । कोरोना विरुद्धको खोप अत्यन्तै प्रभावकारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोभिड – १९ संक्रमणको दोस्रो राष्ट्रिय सेरो प्रिभ्यालेन्स सर्भेक्षणले कोरोना विरुद्धको खोप अत्यन्तै प्रभावकारी रहेको देखाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार एक मात्रा खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिवडी देखिको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सर्वेक्षणबाट कोरोना विरुद्धको खोप अत्यन्तै प्रभावकारी पाइएको जानकारी दिनुभयो ।
मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई सुक्ष्म विष्लेषण गरी आवस्यक कार्ययोजना बनाउने उद्देस्यले छ महिनाभन्दा बढी उमेरका व्यक्तिहरुलाई समेटेर असार २१ देखि साउन ३० गतेसम्ममा संकलित नमुना मध्ये १३ हजार १६१ परिक्षण गरि विष्लेषण गरिएको थियो । प्रवक्ता पौडेलले कोभिड १९ संग मिल्दोजुल्दो लक्षण भएमा आफ्नो स्थानीय तहसंग सम्पर्क गरी निशुल्क परीक्षण गर्न गराउन वा नजिकको सरकारी स्वास्थ्य संस्थामा निशुल्क परीक्षण हुने व्यवस्था गर्न समेत अनुरोध गर्नुभयो ।
प्रवक्ता पौडेलले भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने,घर बाहिर निस्कन पर्ने भएमा अनिवार्य रुपमा मास्क प्रयोग गर्न पनि आग्रह गर्नुभयो । स्वास्थ्य मन्त्रालयले आफू संक्रमण पुष्टि भएमा विगत सात दिन भित्र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई अलग्गै बस्न तथा नियमित निगरानीमा रहन र कुनै पनि स्वास्थ्य समस्या हुने वित्तिकै परीक्षण गर्न र स्वास्थ्यकर्मीको सम्पर्कमा आउन आग्रह गरेको छ । प्रवक्ता डा.पौडेलले देशभरिबाट संकलित सो नमूना परीक्षण गर्दा ६८ दशमलब ६ प्रतिशत नमूनामा कोभिड १९ एन्टीवडी देखिएको जानकारी दिनुभयो ।
