• शनिबार, ५ मंसिर २०८३
  • images
    images

    एन्टिबायोटिकको प्रभावकारिता घट्दै, उपचारमा बढ्दै चुनौती

    एन्टिबायोटिकको प्रभावकारिता घट्दै, उपचारमा बढ्दै चुनौती

    बुधबार, मंसिर २ २०८३
    बुधबार, मंसिर २ २०८३
    एन्टिबायोटिकको प्रभावकारिता घट्दै, उपचारमा बढ्दै चुनौती

    काठमाडौँ, २  मङ्सिर । एन्टिबायोटिकले काम नगर्ने अवस्था बढ्दै जाँदा नेपालमा सङ्क्रामक रोगको उपचार चुनौतीपूर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा नेपालमा प्रतिजैविक प्रतिरोधका कारण प्रत्यक्ष रूपमा छ हजार ४०० जनाको मृत्यु भएको थियो भने थप २३ हजार २०० जनाको मृत्युमा यसको योगदान रहेको थियो ।

    नेपालमा एन्टिबायोटिकको अनियन्त्रित प्रयोग, चिकित्सकको सिफारिसबिना औषधि सेवन र औषधिको मात्रा तथा अवधि पूरा नगर्ने प्रवृत्तिले प्रतिजैविक प्रतिरोधको जोखिम बढाइरहेको छ ।

    सन् २०१७ मा नेपालका आठ जिल्लामा गरिएको एक अध्ययनमा सहभागी बिरामीमध्ये ७९ प्रतिशतले चिकित्सकको सिफारिसबिना औषधि पसलबाट एन्टिबायोटिक खरिद गरेको पाइएको थियो । अध्ययनमा सहभागीमध्ये ४२.९ प्रतिशतले ज्वरोको उपचारमा एन्टिबायोटिक आवश्यक पर्ने धारणा राखेका थिए । सन् २०२१ मा प्रकाशित उक्त अध्ययनले नेपालमा एन्टिबायोटिकको प्रयोगसम्बन्धी जनचेतना र अभ्यासमा सुधार आवश्यक रहेको औँल्याएको थियो ।

    विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ का अवसरमा बुधबार आयोजित प्रभातफेरी कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको अनावश्यक, अत्यधिक तथा न्यून प्रयोग नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

    उहाँले एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न यसको प्रयोग व्यवस्थित र नियमन गर्नुपर्ने उल्लेख गर्दै भविष्यमा गम्भीर सङ्क्रमणको उपचारका लागि आवश्यक पर्ने ‘रिजर्भ एन्टिबायोटिक’ जथाभाबी प्रयोग नगर्न आग्रह गर्नुभयो ।

    प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यमा मात्र सीमित नभई पशु स्वास्थ्य र वातावरणसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालका २६ अस्पतालबाट सङ्कलित राष्ट्रिय निगरानी तथ्याङ्कमा ई. कोलाईमा ५१ प्रतिशत, क्लेब्सिएलामा ५६ प्रतिशत र एसिनेटोब्याक्टरमा ७२ प्रतिशत बहुऔषधि प्रतिरोध देखिएको थियो । एन्टिमाइक्रोबियल औषधिको प्रयोगमा पनि ६० प्रतिशतभन्दा बढी हिस्सा ‘वाच’ समूहका औषधिको रहेको थियो ।

    नेपाल सरकारले प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि सन् २०२४–२०२८ को राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । यसै क्रममा सन् २०२६ मा देशका सातै प्रदेशमा २१ नयाँ जीवाणु परीक्षण प्रयोगशाला स्थापना गर्ने तथा १२ अस्पताल र पाँच प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उपकरण स्तरोन्नति गर्ने कार्यक्रम अघि बढाइएको छ ।

    बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट सुरु भएको प्रभातफेरी औषधि व्यवस्था विभागमा पुगेर समापन भएको थियो । यस वर्षको सप्ताह ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ नोभेम्बर १८ देखि २४ सम्म मनाइँदै छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार