काठमाडौँ, २० साउन । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले बङ्गलादेशको ठाकुरगाँवमा सञ्चालन गरिरहेको निःशुल्क आँखा शिविरमा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता देखिएको छ। साउन १७ गतेदेखि सुरु भएको पाँचदिने शिविरको दोस्रो दिनसम्म एक हजार ३६५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ भने १३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया सम्पन्न भएको सङ्घले जनाएको छ।
नेपालका वरिष्ठ नेत्र विशेषज्ञ तथा अनुभवी स्वास्थ्यकर्मी सहभागी १३ सदस्यीय चिकित्सकीय टोलीले शिविरमा सेवा प्रदान गरिरहेको छ। टोलीमा डा। प्रज्ञा लुइँटेल, डा गङ्गासागर साह, दीपेन्द्र चौधरी, विद्यानन्द चौधरी, मोहम्मद रफिकलगायतका विशेषज्ञ सहभागी छन्।
नेपाल नेत्रज्योति सङ्घ र ठाकुरगाँव डायबिटिज समितिको संयुक्त आयोजनामा सञ्चालन भइरहेको शिविरबाट करिब तीन हजार बङ्गलादेशी नागरिक लाभान्वित हुने लक्ष्य राखिएको छ। शिविरमा निःशुल्क आँखा परीक्षण, नेत्ररोगको पहिचान, औषधि वितरण तथा मोतियाबिन्दुको शल्यक्रिया सेवा उपलब्ध गराइएको छ।
शिविर उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा. चेतराज पन्तले नेपालमा उपलब्ध अन्तर्राष्ट्रियस्तरको नेत्र उपचार सेवामा बङ्गलादेशका नागरिकको पहुँच अझ सहज बनाउन भिसा प्रक्रिया सरलीकरण र विराटनगर–सैदपुर सिधा हवाई सेवा सञ्चालन आवश्यक रहेको बताउनुभयो।
उहाँले यस्ता पहलले नेपाल–बङ्गलादेशबीचको स्वास्थ्य सहकार्यलाई अझ सुदृढ बनाउनुका साथै स्वास्थ्य पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
बङ्गलादेशस्थित नेपाली दूतावासका उपप्रमुख प्रतीक कार्कीले नेपालका आँखा अस्पतालले प्रदान गरिरहेको गुणस्तरीय र सुलभ उपचार सेवाका कारण नेपाल स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको बताउनुभयो। उहाँले यस्ता मानवीय स्वास्थ्य कार्यक्रमले दुई देशबीचको जनस्तरीय सम्बन्ध र स्वास्थ्य कूटनीतिलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो।
शिविरको उद्घाटन बङ्गलादेशका स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मामिलाका सल्लाहकार (मन्त्रिस्तरीय) मिर्जा फखरुल इस्लाम आलमगीरले गर्नुभएको थियो।
विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले स्वास्थ्य सेवामार्फत नेपाल र बङ्गलादेशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताउनुभयो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले समाधान गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि दुई देशका संस्थाबीचको सहकार्य प्रभावकारी बन्दै गएको धारणा व्यक्त गर्नुभयो।
भिभा केयर लिमिटेड र ठाकुरगाँव डायबिटिज समितिको सहकार्यमा सञ्चालन भइरहेको यो कार्यक्रम सन् २०२३ देखि निरन्तर सञ्चालन हुँदै आएको छ। यस अवधिमा बङ्गलादेशका विभिन्न जिल्लाका हजारौँ आर्थिक रूपमा विपन्न नागरिकले निःशुल्क नेत्र उपचार सेवा प्राप्त गरिसकेका छन्।
नेपाल नेत्रज्योति सङ्घले विगत चार दशकदेखि नेपालभर २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्रमार्फत गुणस्तरीय तथा सुलभ नेत्र स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। नेपालभित्र मात्र नभई भारत, बङ्गलादेश, भुटान, म्यानमार, कम्बोडिया र इथियोपियालगायत देशमा पनि प्राविधिक सहयोग, चिकित्सक तथा स्वास्थ्यकर्मी तालिम, क्षमता अभिवृद्धि, निःशुल्क आँखा शिविर तथा विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको सङ्घले जनाएको छ।
सङ्घका अनुसार बङ्गलादेशबाट गुणस्तरीय तथा किफायती नेत्र उपचारका लागि नेपाल आउने बिरामीको सङ्ख्या पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेको छ। ठाकुरगाँवमा सञ्चालन भइरहेको यो शिविरले नेपाली नेत्र सेवाप्रतिको अन्तर्राष्ट्रिय विश्वास अझ मजबुत बनाउनुका साथै नेपाल–बङ्गलादेश स्वास्थ्य सहकार्य र स्वास्थ्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।