हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर विश्व स्तनपान सप्ताह (World Breastfeeding Week) मनाइन्छ। विश्व स्तनपान सप्ताहले नवजात शिशुको जीवनको उत्कृष्ट सुरुवात सुनिश्चित गर्न स्तनपानको संरक्षण, प्रवर्द्धन र समर्थन गर्ने सन्देश दिन्छ। विश्व स्तनपान सप्ताह २०२६ को विषयवस्तु ‘Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works’ ले स्तनपानलाई सफल बनाउन प्रमाणमा आधारित अभ्यासहरूलाई अझ सुदृढ बनाउने र सबै क्षेत्रको सहकार्यलाई प्राथमिकता दिन आह्वान गरेको छ।
आधुनिक वैज्ञानिक अनुसन्धानहरूले स्तनपान केवल पोषणको माध्यम मात्र नभई आमा र शिशु दुवैको स्वास्थ्य, विकास र भविष्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने सबैभन्दा प्रभावकारी सार्वजनिक स्वास्थ्य आधार भएको पुष्टि गरेका छन्। विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा ‘हरेक शिशुलाई जीवनको उत्कृष्ट सुरुवात’ भन्ने प्रतिबद्धतासहित स्तनपानको संरक्षण, प्रवर्द्धन र समर्थन गर्न प्रेरित गर्छ । स्वस्थ आमा, स्वस्थ शिशु र स्वस्थ राष्ट्र निर्माणको आधार स्तनपान नै हो।
विश्व स्वास्थ्य संगठनका अनुसार जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्छ, पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक अन्य कुनै खाना वा पानी नदिई विशुद्ध स्तनपान गराउनुपर्छ, र त्यसपछि उपयुक्त पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनुपर्छ। यही अभ्यासले शिशुको जीवनरक्षा, पोषण र समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ।
हालै प्रकाशित उच्चस्तरीय वैज्ञानिक अध्ययनहरूले स्तनपानले शिशुको स्वास्थ्यमा उल्लेखनीय सकारात्मक प्रभाव पार्ने पुष्टि गरेका छन्। स्तनपानले नवजात तथा शिशु मृत्युदर घटाउँछ, झाडापखाला, निमोनिया, कानको संक्रमण तथा अन्य संक्रामक रोगहरूको जोखिम कम गर्छ। यसका साथै, स्तनपानले मस्तिष्कको विकासलाई प्रोत्साहन गरी स्मरणशक्ति, सिकाइ क्षमता तथा बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्छ। लामो समयसम्म स्तनपान गरेका बालबालिकामा मोटोपना, एलर्जी, टाइप–१ मधुमेह, आन्द्रासम्बन्धी केही दीर्घरोग तथा बाल्यकालीन ल्युकेमियाको जोखिम पनि कम देखिएको छ। यी निष्कर्षहरू हालै प्रकाशित व्यवस्थित समीक्षा (Systematic Review) हरूबाट साभार गरिएको हो।
सन् २०१६ मा The Lancet मा प्रकाशित विश्वप्रसिद्ध अनुसन्धानहरूले स्तनपानले बालमृत्युदर घटाउने, बौद्धिक क्षमता (IQ) वृद्धि गर्ने तथा भविष्यमा मोटोपना र मधुमेहजस्ता दीर्घरोगको जोखिम कम गर्ने देखाएको छ। दीर्घकालीन अध्ययनहरूले स्तनपान गरेका बालबालिकाले शैक्षिक उपलब्धि र संज्ञानात्मक विकासमा पनि राम्रो प्रदर्शन गर्ने प्रमाण दिएका छन्।
स्तनपानका फाइदाः स्वस्थ जीवनको दिगो सुरुवात
स्तनपानका फाइदा शिशुमा मात्र सीमित छैनन्। स्तनपान गराउने आमामा स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर तथा टाइप–२ मधुमेहको जोखिम कम हुने विभिन्न अनुसन्धानहरूले देखाएका छन्। स्तनपानले अक्सिटोसिन हर्मोनको स्राव बढाएर प्रसूति पछिको रक्तस्राव कम गर्न, पाठेघरलाई छिटो सामान्य अवस्थामा फर्काउन तथा आमा–शिशुबीचको भावनात्मक सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत गर्छ। केही अध्ययनहरूले स्तनपानले प्रसूति पछिको मानसिक स्वास्थ्य सुधार गर्न र प्रसूति पछिको अवसाद (Depression) को जोखिम घटाउन पनि सकारात्मक भूमिका खेल्ने देखाएका छन्। विशुद्ध स्तनपानले केही समयसम्म प्राकृतिक रूपमा गर्भ रहन ढिलाइ हुने (Lactational Amenorrhea Method) प्रभाव पनि दिन सक्छ।
नेपालमा पनि शहरीकरण, व्यस्त जीवनशैली, कृत्रिम दूधको बढ्दो प्रचार तथा गलत धारणाका कारण विशुद्ध स्तनपानको अभ्यास चुनौतीपूर्ण बन्दै गएको छ। यस अवस्थालाई सुधार गर्न स्वास्थ्यकर्मी, नर्स, चिकित्सक, नीति निर्माता, सञ्चारमाध्यम, परिवार र समुदाय सबैले प्रमाणमा आधारित सन्देश प्रवाह गर्दै स्तनपानलाई प्रोत्साहन गर्नुपर्छ।
विश्व स्तनपान सप्ताह २०२६ ले हामी सबैलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ । स्तनपान आमाको व्यक्तिगत जिम्मेवारी मात्र होइन, यो सम्पूर्ण समाजको साझा जिम्मेवारी हो। प्रत्येक आमा र शिशुले स्तनपानको अधिकार सुरक्षित रूपमा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु हामी सबैको कर्तव्य हो। विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा हामी सबैले स्तनपानलाई केवल आमाको व्यक्तिगत जिम्मेवारी नभई परिवार, स्वास्थ्य संस्था, कार्यस्थल, समुदाय र राज्यको साझा जिम्मेवारीका रूपमा बुझ्न आवश्यक छ। स्तनपानमैत्री अस्पताल, कार्यस्थलमा स्तनपान-अनुकूल वातावरण, पर्याप्त प्रसूति बिदा, स्तनपानसम्बन्धी सही परामर्श तथा समुदायको सकारात्मक सहयोगले मात्र स्तनपानको दर बढाउन सकिन्छ।
आउनुहोस्, विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा प्रमाणमा आधारित जानकारी फैलाऔँ । स्तनपानप्रति सकारात्मक वातावरण निर्माण गरौँ । हरेक शिशुलाई जीवनको उत्कृष्ट सुरुवात दिने अभियानमा सहभागी बनौँ। स्वस्थ आमा, स्वस्थ शिशु र समृद्ध राष्ट्र निर्माणको आधार स्तनपान नै हो।
कमला सकी श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नर्सिङ उप–नियन्त्रकको रुपमा कार्यरत हुनुहुन्छ ।