• आइतबार, १४ भदौ २०८३
  • images

    कुटपिटबाट घाइते चिकित्सक डा. प्रमोद रामको ट्रमा सेन्टरमा उपचार हुँदै 

    कुटपिटबाट घाइते चिकित्सक डा. प्रमोद रामको ट्रमा सेन्टरमा उपचार हुँदै 

    सोमबार, साउन ११ २०८३
    सोमबार, साउन ११ २०८३
    कुटपिटबाट घाइते चिकित्सक डा. प्रमोद रामको ट्रमा सेन्टरमा उपचार हुँदै 

    काठमाडौं, ११ साउन । नारायणी अस्पतालमा गत शनिबार उपचारका क्रममा बिरामीको मृत्यु भएपछि भएको आक्रमणमा गम्भीर घाइते हुनुभएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। 

    हाल उहाँको टाउकोमा लागेको चोटको परीक्षण तथा उपचार भइरहेको अस्पतालले जनाएको छ।

    उपचारमा संलग्न चिकित्सकका अनुसार डा. रामको अवस्था खतरामुक्त रहे पनि टाउकोमा लागेको चोटका कारण केही समय चिकित्सकीय निगरानी (अब्जरभेसन)मा राखिएको छ।

    उहाँको अवस्था स्थिर छ। यद्यपि टाउकोमा लागेको चोटको प्रकृति मूल्याङ्कन गर्न निरन्तर निगरानीमा राखेर उपचार भइरहेको छ," उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिनुभयो।

    डा. रामलाई आइतबार दिउँसो करिब १ः३० बजे नारायणी अस्पतालबाट ट्रमा सेन्टर ल्याइएको हो।

    यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ट्रमा सेन्टर पुगेर डा. रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले उपचारमा कुनै कमी हुन नदिन चिकित्सक तथा अस्पताल प्रशासनलाई आवश्यक निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपचारका क्रममा उत्पन्न हुने विवाद वा अप्रिय घटनाको छानबिन तथा कानुनी समाधानका लागि प्रचलित कानुनी व्यवस्था विद्यमान रहेकाले कानून हातमा लिएर हिंसात्मक गतिविधिमा संलग्न हुनु कुनै पनि अवस्थामा स्वीकार्य नहुने मन्त्रालयको स्पष्ट धारणा छ।

    मन्त्रालयले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही अघि बढाउन स्थानीय प्रशासनसँग आग्रह गरेको छ। साथै स्वास्थ्यकर्मीलाई निर्भय वातावरणमा सेवा प्रदान गर्न सक्ने अवस्था सुनिश्चित गर्दै अस्पतालहरूमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित सबै निकायसँग अपिल गरेको छ।

    मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा सभ्य समाजका लागि अस्वीकार्य रहेको उल्लेख गर्दै स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ। यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था थप प्रभावकारी बनाइने उहाँको भनाइ छ

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार