• आइतबार, १४ भदौ २०८३
  • images

    बीपी प्रतिष्ठानकी उपकुलपति प्राडा स्मृति कार्कीद्वारा पदभार ग्रहण , सेवा सुधारमा जोड

    बीपी प्रतिष्ठानकी उपकुलपति प्राडा स्मृति कार्कीद्वारा पदभार ग्रहण , सेवा सुधारमा जोड

    मंगलबार, असार ३० २०८३
    मंगलबार, असार ३० २०८३
    बीपी प्रतिष्ठानकी उपकुलपति  प्राडा स्मृति कार्कीद्वारा पदभार ग्रहण , सेवा सुधारमा जोड

    धरान, ३० असार । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्राडा स्मृति कार्कीले सोमबार पदभार ग्रहण गर्नुभएको छ।

    प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले गत असार २४ गते विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्ति गर्ने क्रममा प्राडा कार्कीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्नुभएको थियो। नियुक्तिपछि उहाँ पहिलोपटक धरान पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो।

    प्राडा कार्की यसअघि प्रतिष्ठानकै प्याथोलोजी विभागको प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँले सोही प्रतिष्ठानबाट प्याथोलोजी विषयमा स्नातकोत्तर ९एमडी० अध्ययन पूरा गर्नुभएको हो। उपकुलपतिमा नियुक्त हुनुअघि उहाँ प्रतिष्ठानको कार्यकारिणी समितिको सदस्यका रूपमा समेत कार्यरत हुनुहुन्थ्यो।

    पदभार ग्रहण कार्यक्रममा निमित्त कार्यालय प्रमुख तथा डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बू, प्रतिष्ठानका डिन, सहायक अस्पताल निर्देशक, प्रवक्ता तथा सहप्रवक्ता, विभिन्न स्कुल तथा कलेजका प्रमुख, विभागीय प्रमुख र मेट्रोनहरूको उपस्थिति रहेको थियो।

    यसअघि सरकारले गत वैशाख १९ गते अध्यादेशमार्फत विभिन्न सरकारी संस्था, विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारीलाई पदमुक्त गर्ने व्यवस्था गरेपछि बीपी प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्राडा सञ्जीवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्यप्रसाद सङ्ग्रौला तथा अस्पताल निर्देशक डा. जगतनारायणप्रसाद पदमुक्त हुनुभएको थियो।

    त्यसपछि उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको थियो। उक्त प्रक्रियामा १६ जना चिकित्सक तथा प्राध्यापकले प्रतिस्पर्धा गरेका थिए। छनोट प्रक्रियाका विभिन्न चरण पार गर्दै प्राडा कार्की अन्ततः उपकुलपतिमा नियुक्त हुनुभएको हो।
    पदभार ग्रहणपछि उपकुलपति प्राडा स्मृति कार्कीले प्रतिष्ठानको स्वास्थ्य सेवा, आर्थिक व्यवस्थापन र प्रशासनिक सुधारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बिरामीमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै चिकित्सा शिक्षा र अनुसन्धानको गुणस्तर अभिवृद्धिसँगै प्रतिष्ठानमा सुशासन कायम गर्न सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो।

    उपकुलपतिको नियुक्ति प्रक्रिया पूरा नहुँदासम्म प्रतिष्ठानको प्रशासनिक तथा आर्थिक कामकाज प्रभावित नहोस् भन्ने उद्देश्यले सरकारले डेपुटी अस्पताल निर्देशक डा। इन्द्र लिम्बूलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो। उहाँले पूर्ण आर्थिक तथा प्रशासनिक अधिकारसहित प्रतिष्ठानको दैनिक प्रशासन सञ्चालन गर्दै आउनुभएको थियो।

    कार्कीले प्रतिष्ठानमा सुशासन, पारदर्शिता, गुणस्तरीय स्वास्थ्य सेवा र आर्थिक व्यवस्थापन सुधारका लागि तत्काल कार्ययोजना अघि बढाइने जानकारी दिनुभयो । 
    प्राडा. कार्कीले अस्पतालको डिजिटल प्रणाली विस्तारका लागि नेपाल–भारतबीच भएको समझदारी (एमओयू) कार्यान्वयनलाई तीव्रता दिने बताउनुभयो। प्रधानमन्त्रीसँग भएको भेटमा सम्बन्धित फाइल प्रशासनिक प्रक्रियामा रोकिएको विषय उठाउँदै त्यसलाई यथाशीघ्र अघि बढाउन आग्रह गरेको जानकारी गराउनुभयो । 

    लामो समयदेखि सञ्चालनमा आउन नसकेको एमआरआई सेवा छिट्टै सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्कीले मातृ–शिशु केन्द्र ९एमसीएच० निर्माणको प्रक्रिया पनि तीब्र बनाउने बताउनुभयो । 
     प्रतिष्ठानको अस्पताल र आर्थिक प्रशासनका जिम्मेवार अधिकारीसँग छलफल गरी समग्र वस्तुस्थिति अध्ययन गरेर सुधारको विस्तृत कार्ययोजना तयार पार्ने उहाँको भनाई छ । 

    बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक औषधि, उपकरण तथा अन्य स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गरिने उनले बताइन्। उहाँले अस्पतालको आधारभूत पूर्वाधार सुदृढ गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनासमेत सार्वजनिक गर्नुभयो । 
    एमबिबिएस अध्ययनतर्फ १५० सिट विस्तारको सम्भावना रहेको उल्लेख गर्दै उहाँले आवश्यक पूर्वाधार, छात्रावास तथा अन्य व्यवस्थाको विस्तृत अध्ययनपछि मात्रै प्रक्रिया अघि बढाइने स्पष्ट पार्नुभयो ।  २४ वर्षदेखि अध्ययन, अध्यापन र स्वास्थ्य सेवामा संलग्न रहेको अनुभवले प्रतिष्ठानका चुनौती र सम्भावनाबारे आफूलाई राम्रो जानकारी रहेको उल्लेख गर्दै उहाँले प्रतिष्ठानलाई स्वच्छ, पारदर्शी र सकारात्मक कार्यसंस्कृतिसहित नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार