काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिकाले आफ्नै सुविधासम्पन्न अस्पताल निर्माण गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले बहुवर्षीय योजनाअन्तर्गत महानगर अस्पताल निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।
उहाँका अनुसार अस्पताल निर्माणका लागि आगामी आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
महानगरवासीलाई सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त योजना अघि सारिएको हो।
महानगरले स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ। बजेट वक्तव्यअनुसार समुदायस्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न टोल–टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिनेछ।
ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप उपलब्ध गराउन १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यसैगरी, ‘महानगर पोषण भत्ता कार्यक्रम’ का लागि १६ करोड रुपैयाँ छुट्याइएको छ। क्यान्सरजस्ता जटिल तथा घातक रोगको समयमै पहिचान र निदानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था पनि बजेटमा समेटिएको छ।
स्वास्थ्यजन्य फोहरको वैज्ञानिक व्यवस्थापनका लागि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ। निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको महानगरले जनाएको छ।
बजेटमा स्वनिगः विश्वविद्यालय स्थापना सम्बन्धी कानुनी तथा व्यवस्थापकीय तयारी अगाडि बढाउन ५० लाख रुपैयाँ छुट्याइएको उल्लेख छ।
कार्यवाहक प्रमुख डंगोलले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ। त्यसमध्ये स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम तथा सेवाका लागि ७० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।