काठमाडौ । बिहीबारदेखि एक सातासम्म काठमाडौं उपत्यकाको फोहोर नउठ्ने भएको छ । पुनः फोहोर नउठ्दा हैजा लगायत सरुवा रोग फैलनसक्ने सम्भावना पनि उच्च रहेको छ । केही समयअघि पनि काठमाडौंको फोहोर नउठ्दा हैजा फैलिएको थियो । काठमाडौ महानगरपालिकाका अनुसार उपत्यकाका फोहोर व्यवस्थापन हुने नुवाकोटस्थित बञ्चरेडाँडा जाने बाटो मर्मत हुँदै गरेकाले फोहोर नउठ्ने भएको हो ।
काठमाडौं महानगरपालिकाको वातावरण विभागले बुधबार सूचना जारी गरी यस अवधिका फोहोर एकसातासम्म फोहार व्यवस्थापनमा कठिनाइ हुने जानकारी दिएको छ।
महानगरका अनुसार तीब्र गतिमा सडक निर्माणका लागि एक साता सडक बन्द गर्नुपर्ने भएकाले फोहोरका गाडी नपाठाउन शहरी विकास मन्त्रालयले आग्रह गरेकाले थियो ।
फोहोर सिस्डोल जान रोकिएपछि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन प्रभावित हुनेछ ।
एकसाताभर आ–आफ्नो घर, पसल तथा व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न महानगरले अपिल गरेको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।