काठमाडौं २१ जेठ । धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रस्तावित एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समावेश नगरी छुट्टै स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्न सरकारसमक्ष आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै पठाइएको पत्रमार्फत उपमहानगरपालिकाले सरकारले अघि बढाएको एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण जनाएको हो।
उक्त विधेयकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ सहित विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुन खारेज गरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
यसप्रति प्रतिक्रिया जनाउँदै धरान उपमहानगरपालिकाले बीपी प्रतिष्ठानको ऐतिहासिक योगदान, क्षेत्रीय महत्व तथा विशिष्ट पहिचानलाई ध्यानमा राख्न सरकारलाई आग्रह गरेको छ।
पत्रमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वी नेपालको प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा स्थापित रहेको उल्लेख गरिएको छ।
प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य अनुसन्धान तथा विशिष्टीकृत उपचार सेवामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल भएको उपमहानगरपालिकाको भनाइ छ।
धरान उपमहानगरपालिकाले प्रतिष्ठानलाई शैक्षिक संस्थाको रूपमा मात्र नभई पूर्वी क्षेत्रका लाखौं नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने महत्वपूर्ण उपचार केन्द्रका रूपमा व्याख्या गरेको छ
संस्थाले धरान तथा समग्र पूर्वाञ्चलको सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरिएको छ।
उपमहानगरपालिकाका अनुसार प्रतिष्ठानलाई प्रस्तावित एकीकृत संरचनामा समेटिए यसको स्वायत्तता, प्रशासनिक कार्यक्षमता तथा संस्थागत निर्णय प्रक्रियामा असर पर्न सक्ने सम्भावना रहेको छ। त्यहाँ कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन, पेशागत विकास र सेवा प्रवाहमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
यसै सन्दर्भमा उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐतिहासिक महत्व, योगदान र विशिष्ट पहिचानलाई अक्षुण्ण राख्दै यसलाई छुट्टै स्वास्थ्य विश्वविद्यालयका रूपमा स्तरोन्नति गरी सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
धरानवासीको भावनासमेत समेटिएको उक्त पत्रमार्फत उपमहानगरपालिकाले बीपी प्रतिष्ठानको स्वायत्त अस्तित्व कायम राख्दै यसको शैक्षिक, अनुसन्धान तथा स्वास्थ्य सेवा क्षमतालाई थप सुदृढ बनाउन सरकारसँग आवश्यक पहल गर्न आग्रह गरेको छ ।