काठमाडौं, १८ जेठ । नेपाल नेत्रज्योति सङ्घ, जिल्ला शाखा गुल्मीले जिल्लामा वार्षिक रूपमा ४० हजारभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ। सङ्घअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरूले उपचार, शल्यक्रिया तथा निःशुल्क शिविरमार्फत जिल्लावासीलाई सेवा उपलब्ध गराउँदै आएका छन्।
नेपाल नेत्रज्योति सङ्घ, जिल्ला शाखा गुल्मीको २९औँ जिल्ला सभामा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनअनुसार गत वर्ष ४० हजारभन्दा बढी व्यक्तिले आँखा उपचार सेवा लिएका छन्। साथै ५०० भन्दा बढीको आँखा शल्यक्रिया गरिएको, १० हजार विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको तथा ५०० जनालाई निःशुल्क चस्मा वितरण गरिएको जनाएको छ।
सङ्घका सचिव पदमप्रसाद पाण्डेयले सदरमुकाम तम्घासमा मासिक रूपमा आँखा शल्यक्रिया शिविर सञ्चालन हुँदै आएको र जिल्लाका विभिन्न सात स्थानमा निःशुल्क शल्यक्रिया शिविर तथा प्रत्येक महिना तीनवटा आँखा शिविर सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो।
जिल्ला सभाको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीराज भुसालले गर्नुभएको थियो। कार्यक्रममा उहाँले आँखा उपचार सेवा गाउँघर नजिकै उपलब्ध हुन थालेकाले दृष्टि समस्यालाई बेवास्ता नगर्न नागरिकलाई आग्रह गर्नुभयो।
नेपाल नेत्रज्योति सङ्घ, जिल्ला शाखा गुल्मी २०४९ सालमा स्थापना भएको हो। हाल शाखाअन्तर्गत तम्घासमा एक शल्यक्रिया केन्द्र तथा जिल्लाका विभिन्न पालिकामा छ वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन्।
सङ्घका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेयले जिल्लावासीसँगै छिमेकी जिल्लाका नागरिकले समेत सहज रूपमा आँखा उपचार तथा शल्यक्रिया सेवा प्राप्त गरिरहेको बताउनुभयो। सीमित स्रोत, साधन, पूर्वाधार र जनशक्तिका बाबजुद संघीय, प्रदेश तथा स्थानीय सरकारसँगको सहकार्यमा सेवा विस्तार र गुणस्तर सुधारको प्रयास निरन्तर भइरहेको उहाँको भनाइ थियो।
उहाँले अन्धोपन निवारण अभियानमा सहयोग पुर्याउने संघीय सरकार, लुम्बिनी प्रदेश सरकार, जिल्लाका १२ वटै स्थानीय तह, नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय समिति, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र, सेभा नेपाल, डाक फाउन्डेसन, विभिन्न सङ्घसंस्था, दातृ निकाय तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो।
जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासले आर्थिक वर्ष २०८१/८२ मा १५ हजार २७० जनालाई ओपिडी सेवा तथा १७ जनालाई सामान्य शल्यक्रिया सेवा प्रदान गरेको जनाएको छ। केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेतका अनुसार प्रत्येक महिनाको ११ र १२ गते नियमित रूपमा सञ्चालन हुँदै आएको मासिक आँखा शल्यक्रिया कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ३७१ जनाको शल्यक्रिया गरिएको छ।
कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, लुम्बिनी प्रदेश उपसभापति शेरबहादुर थापा तथा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सभाले सचिव पदमप्रसाद पाण्डेयद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष वीरेन्द्र भुसालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको सूचना अधिकारी वीरबहादुर कार्कीले जानकारी दिनुभयो।