न्यूनतम तलब ४० हजार रुपैयाँ
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३ । ०८४ देखि लागू हुने गरी सरकारी कर्मचारीको तलबमान २१ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै महँगी भत्तालाई निरन्तरता दिँदै कर्मचारीको पारिश्रमिक वृद्धि गरिएको जानकारी दिनुभयो।
सरकारले कर्मचारीको न्यूनतम तलब करिब ४० हजार रुपैयाँ कायम गर्ने निर्णय गरेको छ। नयाँ तलबमान आगामी साउन १ गतेदेखि लागू हुने अर्थमन्त्री वाग्लेले बताउनुभयो।
हाल कायम रहेको पारिश्रमिकमा २१ प्रतिशतसम्म वृद्धि हुने गरी व्यवस्था गरिएको उहाँको भनाइ छ। यसअनुसार आधारभूत तलबमानमा १० प्रतिशत वृद्धि, कार्यसम्पादन मूल्यांकनका आधारमा थप १० प्रतिशत तथा ग्रेड समायोजनसमेत समेटेर कुल पारिश्रमिक वृद्धि हुने जनाइएको छ।
सरकारका अनुसार नयाँ व्यवस्थापछि कर्मचारीको तलब ग्रेडसहित न्यूनतम करिब ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा माथिसम्म पुग्नेछ।