काठमाडौं, १२ जेठ । स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई प्रदान गरिने उपचार सेवासम्बन्धी खर्च तथा सुविधा थैली परिमार्जन गरेको छ । बोर्डको ११ जेठमा बसेको बैठकले सुविधा थैली (तेस्रो संशोधन) २०८३ स्वीकृत गर्दै संशोधित विवरण तथा दररेट आगामी १६ जेठदेखि लागू गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार नयाँ व्यवस्था लागू भएपछि उपचार सेवाको शुल्क तथा औषधिको मूल्य पहिलेको तुलनामा थप यथार्थपरक र व्यवस्थित हुने अपेक्षा गरिएको छ । बोर्डका अधिकारीहरूले संशोधित दररेट सरकारी अस्पतालमा प्रचलित शुल्कका आधारमा तय गरिएको बताएका छन् ।
बीमा बोर्ड स्रोतका अनुसार विभिन्न संघीय सरकारी अस्पतालबाट उपचार सेवाको शुल्क विवरण संकलन गरी औसत दर निर्धारण गरिएको हो । यसअघि प्याकेज प्रणालीमा आधारित सेवा भुक्तानी हुने व्यवस्था रहेकामा अब उपचारमा भएको वास्तविक खर्चका आधारमा भुक्तानी हुने व्यवस्था गरिएको छ ।
यद्यपि, प्रत्येक सेवाका लागि अधिकतम सीमा भने तोकिएको छ । निर्धारित अधिकतम दरभन्दा बढी रकम भुक्तानी नहुने बोर्डले जनाएको छ ।
यसअघि स्वास्थ्य बीमाअन्तर्गत औषधिको मूल्य निर्धारण महँगो भएको भन्दै आलोचना हुँदै आएको थियो । संशोधित सुविधा थैलीमा औषधिको दरसमेत घटाइएको छ ।
स्वास्थ्य बीमा बोर्डमा हाल कार्यकारी निर्देशक सकुन्तला प्रजापतिसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरू सदस्यका रूपमा हुनुहुन्छ ।
स्वास्थ्य बीमा ऐनअनुसार उपलब्ध पदाधिकारीमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने व्यवस्था रहेकाले सोही प्रावधानअनुसार ११ जेठमा बोर्ड बैठक बसेको जनाइएको छ ।
हेरौँ शंसोधन गरिएको दररेटः