काठमाडौँ, २८ बैशाख । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण अभियान अन्तर्गत परीक्षण गराउँदा ६० महिलामा एचपीभी संक्रमण पुष्टि भएको छ।
महानगरपालिकाका अनुसार २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म २ हजार ७ सय ७९ महिलाको एचपीभी परीक्षण गरिएको थियो। हालसम्म प्राप्त १ हजार ७ सय परीक्षण रिपोर्टमध्ये ६० जनामा संक्रमण देखिएको जनाएको छ।
संक्रमण पुष्टि भएका महिलामध्ये १८ जनाको कल्पोस्कोपी परीक्षण सम्पन्न भइसकेको छ भने बाँकी महिलालाई थप परीक्षण तथा उपचारका लागि हरेक बुधबार र शुक्रबार वीर अस्पतालमा थप उपचार गराइँदै आएको महानगरले जनाएको छ।
महानगरपालिकाले स्तन परीक्षण, पाठेघरको भिडियो एक्सरे तथा स्तनको मेमोग्राम परीक्षणका लागि समेत समय तालिका मिलाएर सेवाग्राहीलाई अस्पतालमा बोलाउने व्यवस्था मिलाएको जनाएको छ। अभियानअन्तर्गत गरिने सम्पूर्ण परीक्षण तथा प्रारम्भिक उपचारको खर्च महानगरपालिकाले नै व्यहोरेको छ।
कार्यक्रमकी फोकल पर्सन चन्द्रा भट्टका अनुसार ३५ दिनको अवधिमा ३ हजार ४ सय ९४ महिलाले स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नाम दर्ता गरी रिफरल स्लिप लिएका थिए। तीमध्ये २ हजार ९ सय ७५ महिला परीक्षणका लागि अस्पताल पुगेका थिए।
परीक्षणका क्रममा ४५ महिलाको पाठेघरको मुखमा मासु पलाएको समस्या देखिएको छ भने ८ जनामा पाठेघरको मुखमा संक्रमण पुष्टि भएको महानगरपालिकाले जनाएको छ। यस अवधिमा ४ सय ११ महिलाको मेमोग्राम तथा ४ सय ९४ जनाको भिडियो एक्सरे परीक्षण गरिएको छ।
चिकित्सकहरूले एचपीभी संक्रमण लामो समयसम्म रहिरहेमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढ्न सक्ने भएकाले ३० देखि ६० वर्ष उमेर समूहका महिलाले प्रत्येक पाँच वर्षमा नियमित परीक्षण गराउनुपर्ने सुझाव दिएका छन्।
त्यसैगरी स्तन वा काखीमुनि गाँठो देखिनु, स्तनको आकारमा परिवर्तन आउनु वा निप्पलबाट अस्वाभाविक रूपमा तरल पदार्थ बग्नु स्तन क्यान्सरका प्रारम्भिक लक्षण हुन सक्ने भन्दै यस्ता समस्या देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरूले आग्रह गरेका छन्।