टिम मंगलबाट दुई उपाध्यक्ष सहित चार जना विजयी
काठमाडौं, २२ वैशाख । नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा डा. बद्री रिजाल विजयी हुनुभएको छ ।
अन्तिम मतपरिणाम अनुसार दुई उपाध्यक्ष र तीन केन्द्रीय सदस्य पद बाहेक अधिकांश महत्वपूर्ण पदमा डा. रिजाल समूहका उम्मेदवारहरू निर्वाचित भएका छन्।
१९ सदस्यीय कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा टिम बद्री, टिम मंगल र टिम रिफर्मका गरी ५६ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको थियो। नतिजा टिम बद्रीको उल्लेखनीय वर्चस्व देखाएको छ।
अध्यक्ष पदमा डा. बद्री रिजालले ३,१९६ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी डा. मंगल रावलले २,९४० मत प्राप्त गर्नुभएको छ भने डा. नारायण प्रसाद भुसालले ८६९ मत प्राप्त गर्नुभएको छ।
वरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारी ३,०३६ मतसहित निर्वाचित हुनुभएको छ। यस पदका अन्य उम्मेदवारमध्ये डा. कीर्तिपाल सुवेदीले २,३०२ मत तथा डा. अजय कुमार मिश्रले १,४२१ मत प्राप्त गर्नुभएको छ।
महासचिव पदमा डा. विश्वराज दवाडी २,७२२ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी डा. कालु सिंह खत्रीले २,४२३ मत तथा डा. अमृत भुसालले १,६४६ मत प्राप्त गर्नुभएको छ।
कोषाध्यक्ष पदमा डा. संयुक्त आचार्य ३,१८६ मतसहित निर्वाचित हुनुभएको छ। डा. चाँदनी जैसवालले २,०९९ मत तथा डा. विनोद कुमार महसेठले ९७४ मत प्राप्त गर्नुभएको छ।
सह–सचिव पदमा डा. हुलास अग्रवाल ३,५१० मतसहित विजयी हुनुभएको छ। अन्य उम्मेदवारमध्ये डा. राम जीवन प्रसादले १,५४० मत तथा डा. सन्तोष अधिकारीले १,४१६ मत प्राप्त गर्नुभएको छ।
सह–कोषाध्यक्ष पदमा डा. तेजसु सिंह मल्ल ३,२७९ मतसहित निर्वाचित हुनुभएको छ। डा. सुवास गुरुङले २,२९४ मत तथा डा. राजकुमार दंगालले ८५० मत प्राप्त गर्नुभएको छ।
प्रदेश उपाध्यक्ष (प्रदेश संयोजक) तर्फ सातमध्ये पाँच प्रदेशमा डा. रिजाल समूहका उम्मेदवारहरू विजयी हुनुभएको छ। कोशी प्रदेशमा डा. रोशन खड्का ३,००८ मतसहित निर्वाचित हुनुभएको छ भने डा. टंकप्रसाद बराकोटीले २,२३६ मत तथा डा. हरिशंकर कार्कीले ८७८ मत प्राप्त गर्नुभएको छ।
मधेश प्रदेशमा डा. अमित रञ्जन मिश्र ३,०९९ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी डा. उदय नारायण सिंहले २,०९४ मत तथा डा. मोहम्मद इनामुल हकले ९४३ मत प्राप्त गर्नुभएको छ।
बागमती प्रदेशमा डा. सुवास भट्टराई २,३५९ मतसहित निर्वाचित हुनुभएको छ। यस प्रदेशमा डा. अरुण शाहीले २,२५० मत, डा. अकानन्द सिंहले १,२२१ मत तथा डा. रुवास नाथ योगीले ६८६ मत प्राप्त गर्नुभएको छ।
गण्डकी प्रदेशमा डा. यज्ञराज सिग्देल ३,१०२ मतसहित विजयी हुनुभएको छ भने डा. नवराज लम्डारीले २,८०० मत प्राप्त गर्नुभएको छ।
लुम्बिनी प्रदेशमा डा. नन्दा कुमारी गुरुङ २,९१० मतसहित निर्वाचित हुनुभएको छ। डा. सन्तोष पोखरेलले २,२४२ मत तथा डा. लक्ष्मण शर्माले १,१२३ मत प्राप्त गर्नुभएको छ।
कर्णाली प्रदेशमा डा. रबिन खड्का २,४९० मतसहित विजयी हुनुभएको छ। डा. सरोज गिरीले २,३२२ मत तथा डा. अनुप मंगल समालले १,२५७ मत प्राप्त गर्नुभएको छ।
सुदूरपश्चिम प्रदेशमा डा. प्रमोद जोशी ३,४८० मतसहित निर्वाचित हुनुभएको छ भने डा. निरज अर्यालले २,६१२ मत प्राप्त गर्नुभएको छ।
केन्द्रीय सदस्य पदमा ६ जना उम्मेदवार निर्वाचित हुनुभएको छ। डा. अमित झाले २,७८७ मत, डा. राकेश शाहले २,७८० मत, डा. पल्पसा श्रेष्ठले २,७७८ मत, डा. बिना श्रेष्ठले २,५५१ मत, डा. सुस्मित काफ्लेले २,४९७ मत तथा डा. शेषराज घिमिरेले २,४३८ मत प्राप्त गरी विजयी हुनुभएको हो।
अन्य उम्मेदवारहरूमा डा. अरुण उप्रेतीले २,३९९ मत, डा. सुमेध मिश्रले २,३३१ मत, डा. हिमलाल भण्डारीले २,३१६ मत, डा. आरती शाहले १,७९८ मत, डा. निरजन तामाङले १,७४८ मत, डा. परशुराम घिमिरेले १,७४५ मत, डा. दीक्षा बोहराले १,६४३ मत, डा. जेवना अन्सारीले १,६२५ मत, डा. जीवन क्षेत्रीले १,५३२ मत, डा. विजयकुमार शाहले १,४७१ मत, डा. गणेश चौधरीले १,१८१ मत तथा डा. भवानी शिल्पकारले ९२२ मत प्राप्त गर्नुभएको छ।