वरिष्ठ उपाध्यक्षमा तिवारी र महासचिवमा दवाडीको नाम तय
काठमाडौं, १ पुस । नेपाल चिकित्सक संघको निर्वाचनका लागि अध्यक्षमा डा. बद्री रिजाल र डा. मंगल रावलबीच प्रतिष्पर्धा हुने निश्चित भएको छ ।
प्रजातन्त्रवादी चिकित्सकको तर्फबाट मंगलबार डा. बद्री रिजालको नेतृत्वमा जाने निश्चित भएको हो । डा. रिजाल हाल संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
यसअघि प्रगतिशिल समूहबाट डा. मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
यस्तै हाल संघको महासचिव रहनुभएका डा. सञ्जिव तिवारीलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुहुनेछ ।
संघका हालका वरिष्ठ उपाध्यक्ष डा रिजालले आफ्नो नेतृत्वमा चुनावमा जाने निश्चित भएको जानकारी दिनुभयो ।
मेरो नेतृत्वमा संघको आगामी निर्वाचनमा चुनावी मैदानमा जानेछौ, डा. रिजालले भन्नुभयो,‘अहिलेलाई अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष र महासचिवको मात्र टुंगो भएकोछ ।” अन्य पदमा जाने व्यक्तिहरुको लागि छलफल भइरहेको डा.रिजालको भनाई छ ।
यसअघि अध्यक्षमा उ्रम्मेदवारी घोषणा गरिसक्नुभएका डा विश्वराज दवाडीले महासचिवमा उम्मेदवारी दिने निश्चित भएको छ । डा.दवाडीले डा रिजाल र डा तिवारीको टिममा आफू महासचिवमा बस्ने भन्दै महासचिवमा उम्मेदवारी दिनुहुने भएको हो ।
यसअघि संघको अध्यक्ष पदका लागि डा मंगल रावलले घोषणा गरिसक्नुभएको छ । प्रगतिशिल तर्फबाट संघको महासचिवमा डा पदम नेपाली र स्वतन्त्र तर्फ डा अमृत भुसालले पनि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।