आगामी सत्रबाट चार विषयमा पढाइ हुने
काठमाडौं, २५ चैत । शहिद दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालय, गेटाको चौथो सभा सुरु भएको छ।
सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सभा सुरु भएको हो।
सभामा उपकुलपति प्राडा. सुनिल कुमार जोशी, रजिस्ट्रार डा. खेमराज जोशी, कार्यकारी परिषद् सदस्य डा. भीम बहादुर चन्दलगायत पदाधिकारीहरूको सहभागिता रहेको छ।
उपकुलपति प्राडा. सुनिल कुमार जोशीले आगामी शैक्षिक सत्रबाट चार वटा शैक्षिक कार्यक्रममा अध्ययन/अध्यापन सुरु गर्ने तयारी गरिएको बताउनुभयो। उहाँका अनुसार एमबीबीएसमा ५० सिट, बीएससी नर्सिङमा ३० सिट, बीएससी एमएलटीमा २० सिट र बी अप्टोमेट्रीमा २० सिटका लागि चिकित्सा शिक्षा आयोगमा आवेदन दिइएको छ।
उहाँले विश्वविद्यालयले दीर्घकालीन रूपमा एमडी, एमएस र पीएचडीसहित १७ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि बताउनुभयो।
प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय सञ्चालनका लागि सकारात्मक सन्देश दिएको बताइएको छ। त्यसअनुसार यही शैक्षिक सत्रबाट पठन–पाठन सुरु गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको उपकुलपति जोशीले जानकारी दिनुभयो।
सभाअघि विश्वविद्यालय सञ्चालनका विषयमा छलफल गर्न कैलाली ५ का सांसद डा. आनन्द बहादुर चन्द र कैलाली २ का सांसद केपी खनालले पदाधिकारीसँग भेटघाट गर्नुभएको थियो।
विश्वविद्यालयको संस्थागत गरिमा कायम राख्नुपर्ने भन्दै उहाँहरू औपचारिक सभामा सहभागी नभई बाहिरिनुभएको बताइएको छ।
डा. आनन्द बहादुर चन्दले आफू विश्वविद्यालयमा १७ वर्ष काम गरेको अनुभवका आधारमा यसको गरिमा बुझ्ने बताउँदै त्यसलाई जोगाउने जिम्मेवारी आफूहरूको पनि भएको बताउनुभयो। उहाँले सभामा नबस्ने निर्णय गरे पनि विश्वविद्यालयको विकासमा साथ, समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हाल गेटामा २०७९ सालदेखि ५० शैय्याको अस्पताल सञ्चालनमा रहेको छ। साथै थप शैय्याका लागि सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पताललाई आवद्ध गर्ने तयारी गरिएको बताइएको छ।
विश्वविद्यालयका पदाधिकारीहरूका अनुसार ती अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न चिकित्सा शिक्षा आयोगले प्रदेश सरकारसँग सहमति मागेकोमा सहमति प्राप्त भइसकेको छ।
त्यसैगरी विश्वविद्यालयका लागि ७७ जना शिक्षकको माग गर्दै दरखास्त आह्वान गरिएकोमा ३०४ जनाको आवेदन परेको छ। वैशाख महिनादेखि शिक्षक छनोट प्रक्रिया सुरु गरिने उपकुलपति जोशीले बताउनुभयो।