काठमाडौं, २ फागुन । भारतको पश्चिम बंगालमा निपाह भाइरस संक्रमणमा पर्नुभएकी एक नर्सको निधन भएको छ।
स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार २५ वर्षीया नर्स उपचारको क्रममा जटिलता बढेपछि निधन भएको हो ।
उहाँ गत महिना निपाह भाइरसबाट संक्रमित भएपछि अस्पतालमा भर्ना हुनुभएको थियो ।
केही समयसम्म भेन्टिलेटरको सहायतामा उपचार गरिएको र पछि संक्रमण परीक्षण नेगेटिभ आए पनि उहाँको स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार हुन सकेको थिएन।
लामो समयसम्म कोमामा रहनुभएकी नर्सको अन्ततः हृदयघातका कारण मृत्यु भएको जनाइएको छ।
स्वास्थ्य विभागका अनुसार मृतक नर्स अस्पतालमै कार्यरत हुनुहुन्थ्यो ।
बिरामीको उपचारका क्रममा संक्रमण भएको आशंका गरिएको छ। घटनापछि अस्पतालका अन्य स्वास्थ्यकर्मी तथा सम्पर्कमा आएका व्यक्तिहरूलाई निगरानीमा राखिएको छ।
निपाह भाइरस एक जटिल र उच्च जोखिमयुक्त संक्रामक रोग हो । जसले श्वासप्रश्वास प्रणाली र मस्तिष्कमा गम्भीर असर पुर्याउन सक्छ। यसको निश्चित खोप वा औषधि नभएकाले समयमै पहिचान र सहयोगात्मक उपचारलाई महत्वपूर्ण मानिन्छ।
हाल प्रदेशमा नयाँ संक्रमण पुष्टि नभएको र स्वास्थ्य निकायले सतर्कता बढाएको जनाएको छ। स्थानीय प्रशासनले नागरिकलाई आवश्यक सावधानी अपनाउन तथा स्वास्थ्यसम्बन्धी निर्देशिका पालना गर्न आग्रह गरेको छ।