काठमाडौं, २ माघ। नेपाल अर्थोपेडिक अस्पतालको सञ्चालक समितिका अध्यक्षमा यज्ञ प्रसाद उप्रेती नियुक्त हुनुभएको छ ।
यसैगरी अस्पतालको मेडिकल डाइरेक्टर (निर्देशक)मा डा मुक्तिनाथ तिमल्सिना तथा डिपुटी मेडिकल डाइरेक्टरमा डा प्रकाश ज्ञवाली नियुक्त हुनुभएको छ ।
अस्पताल प्रशासनले नवनियुक्त अध्यक्ष तथा चिकित्सक नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै उहाँहरूको अनुभव, दक्षता र नेतृत्व क्षमताले अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी, गुणस्तरीय र मानवमुखी बन्ने विश्वास व्यक्त गरिएको छ ।
विशेषगरी हाड–जोर्नीसम्बन्धी रोगीहरू तथा अपाङ्गता भएका व्यक्तिहरूको उपचार, पुनःस्थापना र समग्र सेवामा नयाँ नेतृत्वले थप योगदान पु¥याउने अपेक्षा अस्पताल प्रशासनको रहेको छ ।
सो अवसरमा अस्पतालले निवर्तमान मेडिकल डाइरेक्टर डा कैलाश कुमार भण्डारीले आफ्नो कार्यकालमा अस्पतालको विकास, सेवा विस्तार तथा संस्थागत सुदृढीकरणमा योगदान पुर्याएको बताउनुभयो।
नेपाल अर्थोपेडिक अस्पताल नेपाल अपाङ्ग संघद्वारा सञ्चालित अस्पताल हो ।
नेपाल अर्थोपेडिक अस्पतालले आगामी दिनमा नयाँ नेतृत्वको मार्गदर्शनमा सेवा सुधार, प्रविधि विस्तार र बिरामीमैत्री उपचार प्रणालीलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।