काठमाडौँ, १२ पुस । नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि डा. मंगल रावल नेतृत्वको समूहले संकल्पपत्र सार्वजनिक गरेको छ ।
शनिबार सार्वजनिक गरिएको संकल्प पत्रमा पाँच एजेण्डा छन् । पाँच एजेण्डाभित्र विभिन्न बुँदागत रुपमा व्याख्या गरिएको छ ।

कार्यक्रममा डा. रावलले सबै चिकित्सकलाई अनलाइन मतदानको व्यवस्था गर्नेदेखि लिएर आवासीय तथा प्रारम्भिक करिएरका चिकित्सकको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने, सबै चिकित्सकलाई मताधिकारसहित साधारण सदस्य रु तीनसयमा पुनः सुरु गर्ने, निर्वाचनमा उम्मेदवारी दिन लाग्ने ४ वर्षे र ७ वर्षे कार्यकाल खारेज गर्ने लगायतका छन् । यसैगरी कार्यकारी समितिमा आवसीय चिकित्सकको सुनिश्चितता गर्ने, सम्र्पूण चिकित्सकलाई निःशुल्क कानुनी परामर्श गराउने, प्रादेशिक सदस्यता क्रियाशिल बनाउने लगायत छन्।

यस्तै संकल्प पत्रमा कार्यकालभर कुनै पनि राजनीतिक नियुक्तिमा सहभागी नहुने, तालिम र अध्ययनका लागि संघको जिम्मेवारी नछाड्ने, चिकित्सकीय पेशा र हितमा कुनै हानी नपुर्याउने, चिकित्सक संघका गतिविधीमा राजनीति संलग्नता नरहने, टिमका सदस्य कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने महत्वपूर्ण निर्णयमा ब्यालेटिंग प्रणाली लागु गर्ने र प्रत्येक महिना प्रगति विवरण र तीन महिनामा वित्तिय विवरण सार्वजनिक गर्ने प्रतिद्धता गरिएको छ । डा. मंगलको प्यानलले हाम्रो एनएमए, सबैको एनएमए, चिकित्सक ऐन, एनएमएले चिकित्सकलाई दिने सेवा सुविधामा विस्तारलाई पनि संकल्पपत्रमा एजेण्डाका रुपमा अगाडि सारेको छ । यस्तै, अनिवार्य नीतिगत सुधार, एनएमएअन्तर्गत प्रभावकारी रिसर्च एण्ड एडभोकेसी युनिट सञ्चालन गर्ने संकल्पका रुपमा छ ।
यी हुन् डा.मंगलको समूहमा उम्मेदवारी दिने चिकित्सकहरुः

डा. मंगल रावलको समूहबाट उम्मेदवार दिनेहरुमा वरिष्ठ उपाध्यक्षमा युवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी, महासचिवमा डा. कालुसिंह खत्री, उपाध्यक्ष (प्रदेश संयोजक)हरुमा कोशी प्रदेशको उपाध्यक्षमा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. टंक बाराकोटी, मधेश प्रदेशको उपाध्यक्षमा डा. उदयनारायण सिंह, बागमतीको उपाध्यक्षमा डा. अरुण शाही, गण्डकीको उपाध्यक्षमा डा. यज्ञ राज सिग्देल, लुम्बिनीको उपाध्यक्षमा डा. सन्तोष पोखरेल, कर्णालीको उपाध्यक्षमा डा. रविन खड्का र सुदूरपश्चिमको उपाध्यक्षमा डा. निरज अर्याल हुनुहुन्छ ।
यसैगरी, कोषाध्यक्षमा डा. चाँदनी जयसवाल, सह कोषाध्यक्षमा डा. सुवास गुरुंग र सहसचिवमा डा. राम जीवन प्रसाद हुनुहुन्छ ।
यस्तै सदस्यहरुमा डा. अमित झा, डा. अरुण उप्रेती, डा. निराजन तामाङ, डा. जेविना अन्सारी, डा. दिक्षा बोहरा र डा. पल्पसा श्रेष्ठ हुनुहुन्छ ।
