सुर्खेत,१९ मंसिर । मेडिकल ल्याब एसोसिएन अफ नेपाल (मेलान) ले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
कर्णालीका सरकारी तथा निजी दुवै क्षेत्रमा प्रयोगशाला सेवाको सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
केन्द्रीय अध्यक्ष राजेन्द्र खड्का र कर्णाली प्रदेश अध्यक्ष दयाराम पंगालीले संयुक्त रूपमा बुझाएको उक्त पत्रमा प्रयोगशाला क्षेत्रसँग सम्बन्धित थुप्रै समसामयिक मुद्दा समेटिएका छन्।
ध्यानाकर्षण पत्रमा सरकारी स्वास्थ्य सेवामा प्रयोगशाला दरबन्दी विस्तार, निजी क्षेत्रमा कार्यरत जनशक्तिको न्यूनतम पारिश्रमिक र जोखिम भत्ताको व्यवस्था, जनशक्तिको लोकसेवा आयोगमार्फत पदपूर्ति, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण र सशक्तिकरण जस्ता महत्वपूर्ण मागहरू उठाइएका छन्।
यस्तै प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डहरू समयानुकूल परिमार्जन गर्ने, सेवाको वैज्ञानिक शुल्क निर्धारण गर्ने विषय पनि जोड दिएर प्रस्तुत गरिएको छ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै सामाजिक विकास मन्त्रालयले यी विषयमा सकारात्मक रहेको प्रतिक्रिया जनाएको छ। मन्त्रीले केही विषय संघीय सरकारसँग समन्वय आवश्यक हुने बताउँदै आवश्यक छलफलपछि कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल सरकारले हालै गरेको करार स्वास्थ्यकर्मी हटाउने निर्णयका कारण प्रदेशका अस्पतालहरूको सेवा–सञ्चालनमै चुनौती उत्पन्न भएको मन्त्रीले बताएका छन्। उहाँका अनुसार कर्णालीमा जनशक्ति अभाव चर्किँदै गएका बेला यस्तो निर्णयले स्वास्थ्य सेवामा प्रत्यक्ष असर परेको छ।
मन्त्रालयको सकारात्मक संकेतसँगै कर्णालीमा प्रयोगशाला सेवा सुधारको अपेक्षा अझ बलियो भएको मेलानका प्रतिनिधिहरूले बताएका छन्।