प्यालियटिभकेयर फण्डमा एकै दिन ९ लाख संकलन
भक्तपुर, २९ असोज । क्यान्सर उपचारमा अब्बल भक्तपुर क्यान्सर अस्पतालले सरकारको सहयोगमा प्यालियटिभ सेवाको विस्तार गर्ने जानकारी दिएको छ ।
आज (बुधबार) विश्व हस्पिस तथा प्यालियटिभ केयर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा.उज्ववल चालिसेले सरकारको सहयोगमा देशभर प्यालियटिभ सेवा विस्तार गर्ने योजना रहेको बताउनुभयो ।
यदि सरकारले सहयोग गरेमा प्यालियटिभ केएर सञ्चालनका लागि जनशक्ति उत्पादन गर्ने, जनशक्तिलाई तालिम दिने लगायतका प्राविधिक विषयमा अस्पतालले सहयोग गर्ने भन्दै कार्यकारी निर्देशक डा.चालिसेले क्यान्सर बिरामीका लागि प्यालियटिभ सेवा अत्यावस्यक हुने बताउनुभयो ।
यसैबिच भक्तपुर क्यान्सर अस्पतालले प्यालियटिभ केयर फण्ड स्थापना गरेको छ ।
उक्त फण्डमा बुधबार ९ लाख सहयोग उठेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा चालिसेले फण्डबाट जम्मा भएको रकम आर्थिक रूपमा कमजोर बिरामीहरूलाई निःशुल्क सेवामा उपयोग गरिने बताउनुभयो ।
उक्त फण्डमा लायन्स क्लब अफ बागमती क्यान्सर केयरले एक लाख, डिके मेडिसेल्स पाँचलाख, इष्टवेस्ट कन्सर्नले दुईलाख, श्रीमती उषा दीक्षितले एक लाख रकम भक्तपुर क्यान्सर अस्पताल प्यालियटिभ केएर फण्डमा जम्मा गर्नुभयो ।
उहाँले क्यान्सर अस्पतालले क्यान्सर बिरामीका लागि हस्पिस निर्माण गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो ।
हस्पिसमा क्यान्सरका अन्तिम अवस्थाको बिरामीको केएर गर्ने गरिन्छ ।
कार्यकारी निर्देशक डा चालिसेले जीवनको अन्तिम क्षणमा पनि माया, सहानुभूति र सम्मान पाउने अधिकार प्रत्येक व्यक्तिको हुने बताउनुभयो ।
उहाँले यो सन्देश सबैलाई पु¥याउनुपर्नेमा जोड दिदै अस्पतालले उपचार मात्र होइन, मानवताको सेवा गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर क्यान्सर अस्पतालले अहिले नै देशकै एक सशक्त प्यालियटिभ केयर युनिट सञ्चालन गरिरहेको र यसलाई थप सुदृढ बनाउने योजनामा रहेको बताउनुभयो ।
उहाँले अस्पतालले सर्जरी, रेडियसन, किमोथेरापी, इम्युनोथेरापी, ल्याब सेवा, सिटी स्क्यान लगायतका उपचारका सुविधा उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा मिस नेपाल २०२५ की विजेता लुना लुइटेलले प्यालियटिभ केयरले क्यान्सरका बिरामीलाई ठूलो सहयोग पुग्ने बताउनुभयो ।
उहाँले हस्पिसमा चिकित्सकीय सेवा मात्र नभइ मानवीय मूल्यसँग जोडिएको अभियान रहेको बताउनुभयो ।
उहाँले प्यालियटिभ सेवालाई सामाजिक दायित्वको रूपमा लिनुपर्ने बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपाल सरकारले हालै २०२५–२०३५ को राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको जानकारी दिनुभयो । उहाँले उक्त रणनीतिले देशभर प्यालियटिभ सेवा विस्तारमा ठूलो भूमिका खेल्ने बताउनुभयो ।
विश्व हस्पिस तथा प्यालियटिभ केयर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले आयोजना गरेको कार्यक्रमका केही झलकहरुः