अस्पतालले गत वर्ष करार स्वास्यकर्मीलाई उपलब्ध गराएको भत्ता यो वर्ष पाएनन् ।
धनगढी, २७ असोज । सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
चाडपर्व खर्च, पोशाक र महंगी भत्ता माग्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।
चाडपर्व खर्चसहित महंगी भत्ता र पोशाक नपाएको भन्दै आन्दोलित स्वास्थ्यकर्मीहरुले भत्ता पाउनु पर्ने माग राख्दै आज सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन् ।
मन्त्रालयको मूलगेटमा पुगेर प्रदर्शन गर्दै स्वास्थ्यकर्मीहरुले भत्ता नदिएसम्म काम नगर्ने चेतावनी दिएका छन् ।
अस्पतालका लागि सामाजिक विकास मन्त्रालयले करार सेवामा कर्मचारी नियुक्त गरेको थियो ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा हेमराज पाण्डेयले मन्त्रालयले नियुक्त गरेका कर्मचारीलाई अस्पतालले भत्ता दिन नमिल्ने बताउनुभयो । उहाँले चाडपर्व खर्च र भत्ता उपलब्ध गराउन समस्या भएकोले स्वास्थ्यकर्मीहरु आन्दोलित भएको बताउनुभयो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयबाट करार सेवामा भर्ना भएका १५० जना भन्दा बढी कर्मचारीले चाडपर्व खर्च, महंगी भत्ता र पोसाक भत्ता पाएका छैनन् । भत्ता नपाएपछि उनीहरूले आन्दोलनमै उत्रनु परेको बताएका छन्।
कर्मचारीहरूले असोज ६ गतेदेखि भत्ता पाउनुपर्ने माग राख्दै आएका छन्। अघिल्लो वर्षसम्म अस्पताल विकास समितिले चाडपर्व भत्ता उपलब्ध गराए पनि यो वर्ष भने गराएको छैन।
भत्ता पाउनुपर्ने माग राख्दै सोमवार करार सेवाका कर्मचारीहरूले सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। उनीहरूले मन्त्रालयमै पुगेर आफ्ना माग राखेका हुन्।
यता सेती प्रादेशिक अस्पतालले भने सामाजिक विकास मन्त्रालयले १२ महिनाको तलब मात्रै अनुदान उपलब्ध गराएकाले चाडपर्व भत्ता दिन नसकिएको जनाएको छ।
करार सम्झौतामै महङ्गी भत्ता र पोसाक भत्ता पाउने उल्लेख नभएको तर चाडपर्व भत्ता दिन सकिने भए पनि महालेखा परीक्षकको प्रतिवेदनमा भत्ता दिन नमिल्ने राय दिएकाले समस्या भएको अस्पताल प्रशासनले जनाएको छ। मन्त्रालयले नियुक्त गरेको कर्मचारीलाई अस्पतालले भत्ता दिन नमिल्ने राय दिएकाले चाडपर्व भत्ता उपलब्ध गराउन समस्या भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताउनुभयो । उहाँले कर्मचारीहरूलाई चाडपर्व भत्ता उपलब्ध गराउन सकारात्मक भए पनि नीतिगत कारणले अस्पतालले आफ्नो कोषबाट भत्ता उपलब्ध गराउन समस्या भएको बताउनुभयो।
सेती प्रादेशिक अस्पतालका लागि सामाजिक विकास मन्त्रालयले करार सेवामा नियुक्त गरेका कर्मचारीलाई अस्पतालले भत्ता खुवाउन समस्या भएको हो। चाडपर्व भत्ता, महङ्गी भत्ता र पोसाक भत्ता मन्त्रालयले नै उपलब्ध गराउनुपर्ने महालेखाको प्रतिवेदनमा सुझाव दिइएको अस्पतालले जनाएको छ।
करार सेवाका कर्मचारीहरूले अस्पताल र मन्त्रालय आफ्ना मागप्रति सकारात्मक रहे पनि भत्ता दिने निष्कर्षमा पुग्न सकेको छैन ।