चितवन,२० असोज । नारायणगढस्थित बालकुमारी बहुमुखी क्याम्पस प्रमुख जगदीश्वर खनालको क्यान्सर रोगका कारण निधन भएको छ ।
उहाँको आइतबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
तनहुँ आमडाँडा चुदीमा विसं २०२२ मा जन्मिनुभएका खनालको ६० वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको हो ।
विसं २०५३ देखि बालकुमारी क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएका खनाल नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनको अध्यक्ष, नवचितवन साकोसका निवर्तमान अध्यक्ष एवं सल्लाहकार, नेपाल रेडक्रस सोसाइटी भरतपुर उपशाखाका पूर्वसभापति एवं सल्लाहकार, खनाल सेवा केन्द्रीय समिति भरतपुरको सदस्य, अरोमा इङ्गलिस स्कुल भरतपुरको संस्थापक सदस्यजस्ता सामाजिक एवं शैक्षिक संस्थामा रहेर काम गर्नुभएको थियो ।
खनालका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँका आठ दाजुभाइ र एक दिदीबहिनीमध्ये उहाँ तेस्रो सन्तानका रूपमा रहनुभएको थियो । विगत केही वर्षदेखि खनाल क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो । उहाँको आज देवघाटमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । रासस