• आइतबार, १४ भदौ २०८३
  • images

    ट्रमा सेन्टरमा ‘दूरविन’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

    ट्रमा सेन्टरमा ‘दूरविन’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

    सोमबार, भदौ ९ २०८२
    सोमबार, भदौ ९ २०८२
    ट्रमा सेन्टरमा ‘दूरविन’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

    काठमाडौँ, ९  भदौ । राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरी (दूरविनबाट गरिने मेरुडण्डको शल्यक्रिया) प्रविधिबाट गरिने भएको छ । दूरविनबाट मेरुडण्डको शल्यक्रिया गर्दा बिरामीलाई धेरै सहज हुनेछ । 

    सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालले दूरविन प्रविधिबाट मेरुदण्डको गरिने शल्यक्रियाको सबै तयारी पूरा भइरहेको जानकारी दिनुभयो । शल्यक्रियाका लागि सेन्टरमा उपकरण आइसकेको छ । सेन्टरमा यसअघि नशा च्यापिएकालाई माइक्रोस्कोपिक सर्जरी (थोरै चिरेर गरिने शल्यक्रिया) हुने गर्दथ्यो । 

    उहाँले चीनमा सेन्टरका तीनजना चिकित्सकलाई तालिममा पठाएर यही महिनाभित्र नै सेवा सञ्चालन गर्ने बताउनुभयो । 

    उहाँका अनुसार दूरविनबाट सानो प्वाल पारेर मेरुदण्डमा नशा च्यापिएको शल्यक्रिया गरिन्छ । “मेरुदण्डमा नसा च्यापिएको हुन्छ र चोट पटकले गर्दा पनि नसा च्यापिएको हुन्छ, दूरबिनबाट शल्यक्रिया गर्दा रक्तस्राव कम हुने, ठूलो घाउ नहुने र अस्पतालको बसाइ पनि बिरामीको कम हुन्छ”, उहाँले भन्नुभयो ।

    सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा रिजालले इन्डोस्कोपिक स्पाइन सर्जरी महँगो भए पनि बिरामीलाई सरकारले उपलब्ध गराएको रु. एक लाखमा गर्ने बताउनुभयो । 

    सेन्टरका वरिष्ठ हाडजोर्नी शल्य रोग विशेषज्ञ डा. राजेश चौधरी स्पाइन सर्जरी जटिल भएकाले समयमा नै बिरामीले उपचार गर्न सके निको हुने बताउनुहुन्छ । “बिरामीहरु मेरुदण्ड दुख्यो भने इन्जेक्सन लगाएर केही समय सञ्चो हुने चलन बिरामीलाई छ, यसले केही बेर सन्चो भएको महसुस गरे पनि दीर्घकालीन उपचार यो होइन”, उहाँले भन्नुभयो, “मेरुदण्डको नसा च्यापिएरको दीर्घकालीन समस्या समाधान शल्यक्रिया नै हो ।”

    यस्तै, सेन्टरले घुँडा र हिपको जोर्नीको प्रत्यारोपण पनि गर्दै आइरहेको छ । घुँडा खिइएको, उमेर पुगेपछि घुँडाले काम नगर्ने, घुँडा बिग्रेको घुँडाको नसा च्यातिएको जस्ता घुँडाका समस्याको पनि प्रत्यारोपण हुँदै आएको सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा रिजालले जानकारी दिनुभयो । उहाँले हप्तामा १० देखि १५ वटा प्रत्यारोपण अस्पतालमा हुँदै आएको छ । 

    “जोर्नी खिइएर मानिसलाई हिँड्न र नसक्ने, उठ्न सक्दैनन् । जोर्नी खिइएर जोर्नीको आकार बिग्रेर हिँड्न नै समस्या हुने गर्दछ, चोटपटकले गर्दा जोर्नी बिग्रेपछि जोर्नी फेर्नुपर्ने अवस्था हुने गर्दछ”, उहाँले भन्नुभयो, “ती सबैको शल्यक्रियामार्फत उपचार गरिन्छ ।” 

    खेल खेल्दा घुँडाको नसा च्यातिने र ढाडमा चोट लागेर पनि नसा च्यापिने गर्दछ । 

    यसैगरी, सेन्टरमा न्यूरो सर्जरी टाउकोमा लागेको चोटपटक, हाडजोर्नी र मासुमा हुने ट्युमरको पनि सेन्टरमा शल्यक्रिया गरेर उपचार हुने गर्दछ । 

    बिरामीलाई पुनः स्थापनामा समस्या

     अस्पताललाई उपचार गरेका बिरामीलाई स्थानान्तरण गर्ने ठाउँको अभावले अस्पतालमा नै राख्नुपर्ने बाध्यता छ । उपचारपछि फिजियोथेरापीका लागि स्थानान्तरण गर्न सके अरु बिरामीको उपचारको सेवा अस्पतालले दिन सक्नेथियो ।  

    “उपचारपछि बिरामी अयन्त्र सार्न नपाएको हुनाले ती बिरामीको बसाइ अहिले औसतमा नौ दिन भइरहेको छ”, उहाँले भन्नुभयो, “पुनःस्थापना केन्द्र भइदिएको भए हामी यहाँ बिरामीको औसत बसाइ तीनदेखि चारदिन मात्र हुने थियो, धेरै दिन बिरामीलाई अस्पतालमा राख्दा अन्य बिरामीले अस्पतालबाट सेवा पाएका छैनन् ।”

    हाडजोर्नीमा चोट पटक लागेका बिरामीलाई तीन–चार दिनको अस्पतालमा उपचार गरेपछि पुनः स्थापना केन्द्रमा राखेर उपचार गर्न सकिन्छ । सेन्टरले ललितपुरको गोदावरीमा जग्गा प्राप्तिको प्रक्रियामा छ ।

    सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रिजालले यही वर्षदेखि भाडामा ठाउँ लिएर भए पनि सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । 

    सेन्टरमा एमआरआई सेवा पनि यसै वर्षदेखि सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । अस्तपालमा सघन उपचार कक्ष (आइसियु) ११, हाइडिपेडेन्सी युनिट आठ र मोडुलेटर शल्यक्रिया कक्ष पाँचवटा अस्पतालमा सञ्चालन भइरहेका छन् । 

    अस्पतालमा दैनिक ५०० बिरामी उपचार गर्न आउँछन् । आर्थिक वर्ष २०८१/८२ मा एक लाख १४ हजार ८०० बिरामीको सेन्टरमा उपचार गरिएको थियो । तीमध्ये सात हजार ८१७ जनाको शल्यक्रिया गरिएको जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार