ओखलढुङ्गा,६ असार । तिम्ल्याहा (तीन जना) शिशु जन्माउनुभएकी एक आमालाई ५० हजार रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।
गत शुक्रबार शल्यक्रियामार्फत एकै पटक तीन शिशु जन्माउनुभएकी मोलुङ गाउँपालिका–६, श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले असाधारण र संवेदनशील प्रसूति घटनाको रूपमा लिँदै तत्काल राहतस्वरूप नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
पालिकाले नागरिकप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै शिशु र आमाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष उत्तम राईले पालिकाले नवजात शिशु र आमाको पोषणको ख्याल राख्दै आर्थिक सहयोग उपलब्ध गराएको बताउनुभयो।
गाउँपालिका अध्यक्ष उत्तम राईले दुर्लभ र प्रेरणादायी घटना भएकाले आमाको साहस, स्वास्थ्यकर्मीको समर्पण र सुरक्षित प्रसूति प्रक्रियाको प्रशंसा गर्न लायक भएको बताउनुभयो ।
स्वास्थ्य शाखा र श्रीचौर स्वास्थ्य चौकीमार्फत आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषण सुनिश्चित गर्न विशेष निगरानी राखिने निर्णय पनि पालिकाले गरेको छ ।
अध्यक्ष राईले आमासहित तीनवटै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।