सल्यान २७ माघ । सञ्जीवनी फल खाएका विद्यार्थीहरु बिरामी भएका छन् ।
सल्यानको एक विद्यालयका विद्यार्थीहरु उक्त फल खाएपछि अस्पताल भर्ना भएका छन् ।
सल्यानको कुमाख गाउँपालिका–४ स्थित त्रिवेणी आधारभूत विद्यालयका १७ जना विद्यार्थी रुकुमपश्चिमको चौरजहारी अस्पतालमा भर्ना भएका हुन् । उनीहरुलाई बान्ता आउने, रिङ्गाटा लाग्ने समस्या भएपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।
बिरामी पर्नेहरुमा कक्षा ६ मा अध्ययनरत तीनजना र अन्य शिशु कक्षादेखि चार कक्षासम्मका विद्यार्थी छन् । विद्यालय परिसरमा तारबार नहुँदा विद्यार्थीहरु खाजा समयमा बाहिर निस्कने गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक कल्पना शाहले सोमबार दिउँसो विद्यालयको खाजा समयमा उनीहरुले विद्यालय नजिकै रहेको सञ्जीवनीको फल खाएको बताएका थिए । उक्त फल खाइसकेपछि उनीहरुलाई बारम्बार वान्ता आउने, रिङ्गाटा लाग्ने समस्या देखिएको थियो । विद्यार्थीहरु बिरामी भएपछि एम्बुलेन्स मगाएर अस्पताल ल्याइएको हो ।
चौरजहारी अस्पतालका प्रमुख डा निमरोद लिम्बूले विद्यार्थीहरुले हरियो रंगको वान्ता गर्ने गरेको जानकारी दिदै सबै विद्यार्थीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताउनुभयो ।
अस्पतालमा आएका ६ वर्षदेखि ११ वर्ष उमेरका बालबालिकाहरुमध्ये केहीमा भने रिङ्गाटा लाग्ने, वाकवाकी मात्रै आउने लक्षण रहेको छ । अस्पतालमा आएका केही विद्यार्थी भने उपचारपछि घर फर्किएका छन् ।