महिनौँसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य
काठमाडौँ, २२ माघ । भक्तपुर क्यान्सर अस्पतालको बाहिर भेटिएका विराटनगरका निलराज शर्मा अस्पतालले पछिल्लो समय दिएको स्वास्थ्य सेवाबाट प्रभावित छन् । पहिले पहिले केमो र रेडियोथेरापीका लागि चार महिनाभन्दा बढी कुर्नुपरेको कथा सुनाउँदै उनले भने, “पछिल्लो समय भक्तपुर क्यान्सर अस्पतालले १० दिनमै केमोथेरापी र रेडियोथेरापीको लागि पालो आउने गर्दछ ।” अस्पतालमा पालो लामो समयसम्म नआउने भएकोले बिरामीहरु निजी अस्पताल तथा भारतमा समेत गएर उपचार गर्ने गरेको उनले सुनाए । तर अहिले यो अवस्था छैन, शर्माले भने अहिले भक्तपुर क्यान्सर अस्पतालमा जुनसुकै उपचारपनि छिटो छरितो हुने गरेको छ ।
फार्मेसीमा ९० प्रतिशत औषधी
यस्तै सुर्खेतबाट आएका हेवन शाहीले पहिले केमोथेरापीका लागि महिनौँ कुर्नुपर्ने बाध्यता रहेको सुनाए । अव १० दिनको अन्तरमा उहाँको आफन्तको केमो भइरहेको छ । उनले भने ,“केही गरौँ भन्ने उद्देश्यले काम गर्दा यति छोटो समयमा पालो पाउन सकिने रहेछ ।”
उनले बिरामीलाई भनेको समयमा बेड पाउन कठिन, केमोथेरापी या रेडियोथेरापी गर्नको लागि महिनौँसम्म पालो कुरेर बस्नुपर्ने, अस्पतालको फार्मेसीमा एकाध प्रकारका मात्र औषधी पाउने हुन्थ्यो । क्षेत्रीले भन्नुभयो,“केही समयअघि देखि अस्पतालमा धेरै सुधारका काम भएको छ । शैया उपलब्ध हुने देखि लिएर, केमोथेरापी, रेडियोथेरापी तथा शल्यक्रिया लगायतको लागि अब समय कुरिरहनुपर्दैन । अस्पतालमा सिनिएर चिकित्सकलाई भेटाउन पनि सहजै सकिन्छ । उहाँले भक्तपुर क्यान्सर अस्पतालले निजीमा भन्दा राम्रो सेवा दिइरहेको जानकारी दिनुभयो ।
केही महिनाअघि सम्म भक्तपुर क्यान्सर अस्पतालको फार्मेसी प्रायः रित्तो हुने गर्दथ्यो । चिकित्सकले प्रेस्किप्सन गरेका औषधी खरिद गर्न अस्पताल बाहिरका फार्मेसीमा जानुपर्ने बाध्यता थियो । स्वास्थ्य बीमाका औषधी समेत पाइदैनथियो । तर पछिल्लो समय अस्पतालमा फार्मेसीमात्र होइन, अस्पतालको व्यवस्थापकीय पक्ष, अस्पतालले दिने सेवा सुविधा समेत चुस्त हुँदै गएको छ । क्यान्सरका बिरामीका लागि शल्यक्रिया, केमोथेरापी तथा रेडियोथेरापीका लागि समेत बढीमा १५ दिनमा पालो आउने गरेको छ । पहिले–पहिले केमो र रेडियोको लागि तीनमहिनाभन्दा बढी समय पालो कुर्नुपर्दथ्यो ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ववल चालिसेले अस्पतालमा बिरामीले राहत महसुस गरिरहेको बताए । उनले अब उपचारको लागि निजी अस्पताल धाउनुपर्ने बाध्यता हटेको बताए ।
डा.चालिसेले अस्पतालको फार्मेसीमा ९० प्रतिशत औषधी पाउने गरेको जानकारी दिए । । नेपालमा दर्ता नभएका औषधी मात्र नपाउने गरेको उनको भनाई छ ।
नेपाल नल्याएका औषधीबाहेक अन्य सबै औषधी फार्मेसीमा पाउने गरेको उनको भनाई छ । निर्देशक डा. चालिसेले यसबाहेक अस्पतालमा दुईवटा शल्यक्रिया कक्षलाई बढाएर पाँचवटा पु¥याएको बताए । अब शल्यक्रियाका लागि समय लाग्दैन,डा.चालिसेले भने ,“तत्काल शल्यक्रिया गर्न पाउँदा बिरामीले ठूलो राहत हुनेछ ।”
डा. चालिसेले अस्पतालले विस्तारित सेवालाई समेत प्रभावकारी बनाएको जानकारी दिए । उनले विराटनगरको कोशी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा केमोथेरापीको उपचार सुरु भइसकेको जानकारी दिदै समय समयमा अस्पतालबाट विशेषज्ञ टोली गएर क्यान्सर रोगको उपचार गर्ने गरेको बताए ।
यसैबीच आज विश्व क्यान्सर नेपालमा विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउन लागिएको छ ।