• सोमबार, १५ भदौ २०८३
  • images

    पोखरामा मिर्गौला प्रत्यारोपण सफल, बहिनीको मिर्गौला दिदीलाई

    पोखरामा मिर्गौला प्रत्यारोपण सफल, बहिनीको मिर्गौला दिदीलाई

    शुक्रबार, चैत ९ २०८०
    शुक्रबार, चैत ९ २०८०
    पोखरामा मिर्गौला प्रत्यारोपण सफल,  बहिनीको मिर्गौला दिदीलाई

    पोखरा, ९ चैत। पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा त्यहिको जनशक्तिबाट मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । 
    यसअघि पनि पोखरामा मिर्गौला प्रत्यारोपण भएपनि भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ नेतृत्वको सहयोगमा मिर्गौला प्रत्यारोपण हुने गरेको थियो । 
    तनहुँको व्यास नगरपालिका १० की ३५ वर्षीया सम्झना गुरुङको मिर्गौला सफल प्रत्यारोपण गरिएको हो । उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान दिएकी हुन् ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि पहिलोपटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गरिएको हो ।

    यसअघि २०७९ असारमा पहिलोपटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो ।

    पोखरामा प्रत्यारोपणका लागि केन्द्रले सहयोग गर्दै आएकामा पछिल्लो पटक अरुको सहयोग बिनानै यहीँकै चिकित्सकको टोलीले सो कार्य सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

    बिहीबार अस्पतालका युरो सर्जनद्धय डा प्रकाश क्षेत्री र डा अनुप चापागाईँ, नेफ्रोलोष्टि डा जुजुराम श्रेष्ठ र डा अमृत केसी, जनरल सर्जन डा डेभिड श्रेष्ठको टोलीले प्रत्यारोपण गरेको अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिएका छन् ।

    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आठ वटा प्रत्यारोपणमा प्रत्यारोपण केन्द्रका चिकित्सकबाट गरिएकामा हिजो नवौँ प्रत्यारोपण पहिलो पटक प्रतिष्ठानका आफ्नै चिकित्सक र स्वास्थ्यकर्मीबाट गरिएको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले जानकारी दिए ।

    अस्पतालकै जनशक्तिबाट सो कार्य सम्भव भएपछि प्रत्यारोपणका लागि पालो कुर्नुपर्ने अवस्था पनि कम हुँदै जाने उनले बताएका छन् ।

    पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मिर्गौला प्रत्यारोपण गर्दा बिरामीले रु चार लाखसम्म सहुलियत पाउने गरेका छन् ।

    विपन्न नागरिकको औषधोपचार कार्यक्रमअन्तर्गत अस्पताल सूचीकृत भएसँगै यहाँ प्रत्यारोपण गर्नेले सो सहयोग पाउने जनाइको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार