न्याम्स र अमेरिकाको युनिभर्सिटी अफ इलनोइ सिकागोसँग सम्झौता
काठमाडौँ, २४ कात्तिक । वीर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।
शुक्रबार अमेरिकाको युनिभर्सिटी अफ इलनोइ सिकागोसँग वीरमा बोनम्यारो प्रत्यारोपण गर्न सहयोग गर्ने विषयमा पनि सम्झौता भएसंगै वीरमा बोनम्यारो प्रत्यारोपणका लागि बाटो खुलेको हो ।
युनिभर्सिटीको रगत रोग र क्यान्सर विभागका प्रमुख प्राडा दमियानो रोनदेली नेपाल आएको समयमा दुबै संस्थाबीच चार वटा विषयमा केन्द्रित भएर सम्झौता भएको छ।
सरकारले सहयोग गरेको अवस्थामा वीरबाट तत्काल बोनम्यारो प्रत्यारापण गर्न सकिन्छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रेक्टर प्राडा.लोचन कार्कीले सरकारले सहयोग गर्दा वीरबाट तत्काल बोनम्यारो प्रत्यारोपण गर्न सकिने जानकारी दिए ।
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले यो सम्झौतासँगै न्याम्सको वीर अस्पतालमा रगत रोग सेवा विस्तार हुनुका साथै बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्ने काम पनि अगाडि बढ्ने जानकारी दिए ।
ुसम्झौतामा नेपालभर रगत रोग विशेषज्ञको कमी हुन नदिन र रगतसम्बन्धी रोगको उपचार सेवालाई चुस्त दुरुस्त बनाउँदै सेवा विस्तार गर्न यो सम्झताले ठूलो सहयोग गर्ने उल्लेख छ । प्राडा बस्नेतले रगत रोगका विषयमा अध्ययन गर्ने चिकित्सकहरुले युनिभर्सिटी अफ इलनोइ सिकागोका प्रोफेसरहरुबाट थप ज्ञान र सिप सिक्न पाउने छन्।
डा बस्नेतले अनुसन्धानमा सहकार्य र सहयोग, मेडिकल एजुकेशन विभागको विस्तार, संयुक्त फेलोसिप कार्यक्रम र फ्याकल्टी एक्सचेन्ज गरी चार वटा विषयमा सम्झौता भएको जानकारी दिए ।
यसअघि मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सेवा सञ्चालन गर्न र अगाडि बढाउन प्राडा रोनदेली महत्वपूर्ण भूमिका खेलेका थिए।
सम्झौतामा प्राडा रोनदेली र नेपालका तर्फबाट न्याम्सका उपकुलपति प्राडा बस्नेतसहित न्याम्सका रेक्टार प्राडा लोचन कार्की, डीन डा अशेष ढुंगाना, एसिस्टेन्ट डीन डा पवनकुमार हमाल, एसिस्टेन्ट डीन डा विकास अधकारी र प्राडा विशेष पौडेलको हस्ताक्षर छ।
नेपालका रगतरोग विशेषज्ञ डा विशेष पौडेलको आग्रहपछि दुई संस्थाबीच छलफल पछि सम्झौता भएको हो ।