झापा, साउन ५ । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले क्यान्सर रोगका बारेमा बेलैमा सचेत गराउनसक्ने कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ।
बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र अर्जुनधारा नगरपालिकाको समन्वयमा बिहीबार अर्जुनधारामा आयोजित क्याम्सरसम्बन्धी सचेतना कार्यक्रमा जानकारी दिनुहुँदै नगर प्रमुख गोम्देनले लापरबाही र असावधानीका कारण प्राणघातक रोगको सामना गरिरहनु परेको बताउनुभयो ।
क्यान्सर रोगलाई जितेर नगरबासी फेरि रोजगारमा फर्कनसक्ने वातावरण तयार गर्न नगरले कार्यक्रम ल्याउने नगर प्रमुख गोम्देनले कार्यक्रममा प्रतिवद्धता जनाउनुभयो । उहाँले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनले गुणस्तरीय सेवा पाएको पनि सुनाउनुभयो ।
आफ्ना बुवा र आमा पनि क्यान्सर रोगको उपचार गरेको स्मरण गर्दै उहाँले त्यसताका भारतको क्यान्सर अस्पतालले पनि बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालमा सिफारिस गरेका उदाहरण दिनुभयो । उहाँले पूर्वाञ्चलसँग क्यान्सर रोगविरुद्ध सहकार्य गर्न पनि इच्छा व्यक्त गर्नुभयो।
अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवले पूवाञ्चल क्यान्सर अस्पतालले उपचारमात्र नभएर सचेतना र रोकथामका लागि अनेकन् प्रयास गदैै आएको सुनाउनुभयो । क्यान्सर रोगसम्बन्धी सचेतना गरेर पनि ६० प्रतिशत रोकथाम गर्न सकिने उहाँको जोड थियो ।
क्यान्सर रोगको बारेमा विभिन्न तथ्यमाथि प्रकाश पार्दै डा. यादवले विश्वमा सबैभन्दा बढी दुर्घटना र मुटु रोगबाट मृत्यु हुने तथा तेस्रो स्थानमा क्यान्सर रोगको स्थिति भयावह रहेको चित्रण गर्नुभयो । बर्सेनि रोगीको संख्या बढ्दै गएको बताउँदै उनले झापा नेपालको दोस्रो स्थानमा रहेको पनि सुनाउनुभयो ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले भारतमा हुने क्यान्सर रोगको उपचार अहिले झापाको बिर्तामोडबाटै भइरहेको बताउनुभयो । उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा नागरिक उपचार कोषमार्फत उपचार भइरहेको जानकारी दिनुभयो । झापाका स्थानीय तहमा सचेतना कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउँदै उहाँले स्थानीय तहसँग अस्पतालले सहकार्य तथा हातेमालो गर्न तयार रहेको पनि बताउनुभयो ।
सोही कार्यक्रममा क्यान्सर रोगसँग बाँच्नका लागि संघर्ष गरिरहेका बिरामीसँग भेटघाट कार्यक्रम पनि राखिएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचाररत १४ जना कार्यक्रममा सहभागी थिए । सहभागी अर्जुनधारा ३ की हेमकला श्रेष्ठले क्यान्सर रोगबाट मरिन्छ जस्तो लागे पनि हिम्मत हार्न नहुने भन्दै आफ्नो अनुभव सुनाउनुभएको थियो । ।
अस्पतालकी निर्देशक डा. अञ्जली कार्की प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमार राई, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत स्वास्थ्यकर्मी, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।