डडेलधुरा,१ जेठ । डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको झाडापखालाले एक व्यक्तिको मृत्यु भएको छ। पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ।
उक्त गाउँका थप एक सय ४८ जना पखालाबाट प्रभावित भएका छन्। स्वास्थ्य निर्देशनालय दिपायलले १० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा यो रोगले प्रभावित भएको जनाएको छ।
पशुराम नगरपालिकास्थित जोगबुढा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले गुप्तगडा गाउँका पखालाबाट पीडित आठ बिरामी उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिनुभयो। उहाँले झाडापखाला देखिएपछि यसको रोकथामका लागि पानी शुद्धिकरण गरेर उपभोग गर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो।
पखाला लागेमा लगातार पखाला लागिरहने, बान्ता आउने, ज्वरो आउने र शरीरमा पानीको मात्र कम भई (जलवियोजन) बिरामीको मृत्यु हुन सक्छ।
यसबाहेक जनचेतना अभिवृद्धि गर्न स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँमा परिचालन गरिएको छ। खानेपानीको मुहान प्रदूषित भएका कारण पखालाको समस्या देखिएको जनाइएको छ। खानेपानी प्रदूषित भएकाले पखाला फैलिएको जनाइएको छ।