काठमाडौं, २४ चैत । सरोकारवालाहरुले नसर्ने रोगविरुद्ध लगानी बढाउनुपर्ने बताएका छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपाल र नेपाल एनसिडी एलायन्सले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञहरुले नसर्ने रोगको रोकथाम तथा न्युनिकरणका लागि सरकारले बनाएको कार्यायोजना प्रभावकारी रुपमा कार्यान्व्यन हुनु पर्नेमा जोड दिइएको छ ।
अलाएन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि जनचेतनासंगै सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो ।
नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बनाइएको बहुक्षेत्रीय कार्ययोजना २०२१– २५ को रणनीतिक अवधारणामा यो कुरा स्पष्टसंग लेखिएको छ । तर, त्यसका लागि चाल्नु पर्ने न्युनतम कार्य गर्न भने सरकार स्वयं अल्मलिरहेको देखिन्छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा रेग्मीले नसर्ने रोग महामारीको रुपमा बढीरहेको बताउँदै यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन हुनु पर्ने बताउनुभयो ।
उहाँले नसर्ने रोगकै कारण हुने मृत्युमा तिब्र रुपमा बढोत्तरी भएको, उपचारमा रहेका बिरामीहरुको आर्थिक भार बढ्दै गएको बताउनुभयो ।
रेग्मीले नसर्ने रोग खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण भयावह बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि सञ्चारमाध्यमबाट हुने पैरवी महत्वपूर्ण हुने बताउनुभयो । उहाँले आम सञ्चारका माध्यमबाट आउने स्वास्थ्यका सन्देशहरु आम नागरिकले छिटो विश्वास गर्ने भन्दै सञ्चारमाध्यम र सञ्चारकर्मीले यस तर्फ जोड दिन आग्रह गर्नुभयो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारहरुले नसर्ने रोगका विषयलाई प्राथमिकताका साथ कलम चलाउँदै आएको बताउनुभयो । उहाँले पत्रकारले कलम चलाएको भएर नागरिकमा नसर्ने रोगबारे जानकार भएको बताउनुभयो । उहाँले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि मञ्चले सरोकारवाला पक्षसंग मिलेर अभियान नै चलाउने बताउनुभयो ।
एनसिडी अलाइन्सका उपाध्यक्ष प्राडा अभिनभ वैद्यले कार्यपत्र प्रस्तुत गर्दै नसर्ने रोगको भारको तुलनामा लगानी थोरै भएको बताउनुभयो । सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थको सेवन, अस्वस्थकर जीवनशैली र मोेटोपना, वातावरणीय प्रदुषण लगायतका विविध कारण नसर्ने रोग बढ्दै गइरहेको तर त्यसका लागि राज्यले बढाउनु पर्ने लगानी निकै कम भएको बताउनुभयो । नेपालमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न ऐन आएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँको भनाई थियो ।
उहाँले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकार, सरोकारवाला र सञ्चारमाध्यमले धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
‘
कार्यक्रममा एनसिडी एलायन्सका सहअध्यक्ष शान्तलाल मुल्मीले सञ्चारमाध्यमले नसर्ने रोगका स–साना मुद्दाहरुमा कलम चलाउन आग्रह गर्नुभयो । उहाँले सरकारलाई रणनीति बनाउन दवाव दिन, यस सम्वन्धी विषय बस्तुमा पैरवी गर्न, तथा आम जनतालाई सचेत बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
अलाइन्सका महासचिव किशोर कुमार प्रधानाङ्गले नसर्ने रोगको रोकथामका तथा न्यूनीकरणका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष एवं पत्रकार रामप्रसाद न्यौपानेले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।