काठमाडौँ, १८ पुस । थापाथलीस्थित नर्भिक अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको जानकारी दिएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले नर्भिकले हालसम्म २ व्यक्तिको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिसकेको जानकारी दिनुभयो । उहाँले मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उहाँकी ५५ वर्षीया पत्नीले मिर्गौला दान दिनुभएको जानकारी दिदै अर्का ५४ वर्षीय अर्का पुरुषमा उहाँकी ३० वर्षीया छोरीले मिर्गौला दिनुभएको थियो ।
अस्पतालले आगामी दिनमा यो सेवालाई बिस्तार गर्दै लगिने अस्पतालले जनाएको छ । नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा.आरके अग्रवाल नेतृत्वको टिमले मिर्गौला प्रत्यारोपण गरेको हो । चिकित्सकका अनुसार प्रत्यारोपणको खर्च १२ देखि २० लाख रुपैयाँ लाग्ने छ ।
सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएका २ वटा केशमध्ये पहिलो केश केही जटिल रहेको हस्पिटलले जनाएको छ । पहिलो पटक नर्भिकमा मिर्गौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता थियो ।
तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको छ ।
मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरु भएको मृगौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्दछ ।
यही सम्मेलन मार्फत् नर्भिक इन्टरनेशनल हस्पिटलले कलेजो प्रत्यारोपण सेवा पनि बिस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको छ ।
प्रत्यारोपण गरिएका र मिर्गौैला दान दिनेहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मिश्रले बताए ।
नर्भिकमा प्रत्यारोपण सेवा प्रारम्भ भएसंंगै मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालहरुको संख्या ११ पुगेको छ ।