काठमाडौ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालले समर्थन गरेको छ।
मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आउनुभएका डा ट्रेडोसको उमेद्धारीलाई समर्थन जनाउनुभएको हो ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले टेड्रोसको दोस्रो कार्यकालको लागि यहाँको मनोनयनलाई हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिनुभएको थियो । आफ्नो महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्ने क्रममा यहाँलाई हामीले सक्दो समर्थन र सहयोग गर्ने उहाँको भनाई थियो।
नेपाल सन् १९५३ मा डब्लूएचओसँग आवद्ध भएदेखि नै नेपाल र डब्लूएचओबीच उत्कृष्ट कार्यात्मक सम्बन्ध रहिआएको भन्दै मन्त्री खतिवडाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो । औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लुएचओबाट सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न सहयोगका लागि अनुरोध गर्नुभयो ।
उहाँले स्वास्थ्य संकटको सामना गर्न र राष्ट्रिय, क्षेत्रीय एवं विश्वस्तरमा आपसी सहयोग एवं सहकार्यलाई बढावा दिनका लागि डब्लुएचओको भूमिका अझै सुदृढ बनाइराख्नुपर्ने बताउनुभयो ।
विगत केही वर्षहरूदेखि नेपालले जनस्वास्थ्य क्षेत्रमा केही ठोस उपलब्धिहरू हासिल गर्न सफल भएको छ भन्दै उहाँले मातृ तथा बाल मृत्यु न्यूनीकरणमा प्राप्त भएको उपलब्धि उल्लेखनीय रहेको बताउनुभयो ।