मातातिर्थ आयुर्वेद औषधालय अब आफ्नै भवनमा
काठमाडौँ । आयुर्वेदिक उपचारले स्वस्थ जिवनशैली अपनाउन मद्दत मिल्ने बताइएको छ। मातातीर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवन उद्घाटन गर्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले स्वस्थ जिवनशैलीका लागि आयुर्वेद महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले आयुर्वेदको महत्व बारे प्रकाश पार्नुभयो। सो कार्यक्रममा औषधालयका प्रमुख नारायण आचार्यले औषधालयले पन्चकर्म सहित आयुर्वेद पद्दतिबाट परीक्षण गरिने जानकारी दिनुभयो। उहाँले औषधालयमा आयुर्वेदिक औषधी निशुल्क उपलब्ध गराइने बताउनुभयो। नगरपालिकाको वडा नंम्बर ८ मातातिर्थस्थित औषधालयले एकतले भवन निर्माण गरी आजदेखि उक्त भवनबाट सेवा संचालन सुरुवात गरेको छ। यसअघि औषधालयले भाडाको घरबाट सेवा प्रदान गरिरहेको थियो। चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले औषधालयबाट लाभ लिन जनताहरूलाई आवहान गर्नुभयो। उहाँले जडिबुटीको प्रसोधन, उत्पादन तथा आयुर्वेदिक अनुसन्धान केन्द्रको स्थापना गर्दै जाने तथा यस नगरपालिकालाई स्वास्थ्य हवका रुपमा विकास गर्ने बताउनुभयो। वडा नंम्बर ८ का वडाध्यक्ष सन्तोष खड्काले लामो समयको पर्खाई र मेहनतमा यो भवन तयार भएको बताउदै कोरोना महामारीका कारण सोचेको समय भन्दा ढिला निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।
कार्यक्रममा आयुर्वेद काउन्सिलका अध्यक्ष डा सन्तोष ठाकुर, स्वास्थ्य मन्त्रालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा बाबुराजा अमात्य तथा डा सिद्धार्थ ठाकुरले आयुर्वेदिक उपचार बारे धारणा राख्नुभएको थियो।