काठमाडौं,। कोरोना भाइरस (कोभिड–१९) संक्रमणले महामारी रुप लिइरहेको बेला मेची आयुर्वेद औषधालयले संक्रमितहरुको घरघरमा पुगेर औषधि उपचार तथा मरामर्श सेवा दिन सुरु गरेको छ । मेची आयुर्वेद औषधालयले इलामका १० वटै स्थानीय निकायमा र झापा जिल्लामा समेत संक्रमितका घरघरमा गई कोरोना विरुद्धको आयुर्वेदिक औषधि वितरण गर्नुकासाथै संक्रमितलाई हौसला दिइरहेको छ । औषधालयका सूचना अधिकारी तिर्थराज आचार्यले जिल्लाका सबै पालिकाहरुमा भएका संक्रमितका घरघरमा गई औषधि वितरण गर्ने कार्य जारी राखिएको बताउनुभयो । उहाँले संक्रमितहरुलाई योग तथा प्राणायाम गराउने कार्य पनि भइरहेको जानकारी दिदै नेपाल पत्रकार महासंघ झापाको अनुरोधमा झापामा १३ जना संक्रमित पत्रकारहरु संगै ६८ जनालाई औषधि वितरण गर्नुकासाथै प्राणायाम लगायतका कार्य गरिएको जानकारी दिनुभयो । सूचना अधिकारी आचार्यले मेची आयुर्वेदिक औषधालयले ‘कोभिड–१९ महामारी नियन्त्रणका लागि घरघरमा मेची आयुर्वेद’ को अभियान सुरु गरेर संक्रमितलाई उपचार,औषधि ,प्राणायाम र परामर्श दिइरहेको बताउनुभयो । उक्त अभियानले संक्रमितहरुको मनोबल उच्च बनाउनुकासाथै औषधि समेत निशुल्क पाउने गरेका छन् । कोभिड अस्पताल र संक्रमितहरुको घरघरमा गई सेवा दिइरहेका उहाँको भनाई छ । अस्पताल प्रमुख डा बिजय श्रेष्ठको नेतृत्वमा कोरोना नियन्त्रण अभियान सञ्चालन गरिएको हो । उक्त अभियानमा मेची आयुर्वेद औषधालयका प्रमुख श्रेष्ठ सहित डा.उपेन्द्र गुप्ता, रुपा निरौला,विश्वमणि ढकाल,हिरादेवी गुरुङ्ग,सुस्मिता राई ,खगेन्द्र भट्टराई लगायतको टालीले गाँउगाउँमा गई संक्रमितहरुको उपचार गरिरहेको छ । मेची औषधालयले इलाम नगरपालिकामा रुपा निरौलाको नेतृत्वमा ७० जना संक्रमितले सेवा लिएका छन् । यस्तै सूर्योदय नगरपालिकामा श्यामा मगरको नेतृत्वमा २१ जना,रोङ गाउँपालिकामा हिरा गुरुङको नेतृत्वमा २१ जना,माई नगरपालिकामा खगेन्द्र भट्टराईको नेतृत्वमा ११ जना, चुलाचुली गाउँपालिकामा डा.उपेन्द्र गुप्ताको नेतृत्वमा १२ जना तथा कविराज तिर्थराज आचार्यको नेतृत्वमा झापा जिल्लाका पत्रकार तथा तिनका परिवार सहित १९ संक्रमितलाई परामर्श,प्राणायाम,योग सिकाउने कार्य तथा औषधि वितरण समेत गरिएको थियो । मेची औषधालयले १० वटै स्थानीय तहमा कार्यक्रम संचालन गरिरहेको छ ।








