काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा वरिष्ठ आयुर्वेद विज्ञ डा. मुनकर्ण थापालाई नियुक्त गरेको छ।
मन्त्रालयको निर्णयअनुसार डा. थापालाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो। उहाँको नियुक्तिसँगै औषधि उत्पादन, कच्चा पदार्थको व्यवस्थापन, संस्थागत सुधार तथा आयुर्वेदिक स्वास्थ्य सेवाको विस्तारलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
डा. थापा लामो समयदेखि आयुर्वेद स्वास्थ्य सेवामा कार्यरत हुनुहुन्थ्यो। नेपाल सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको विवरणअनुसार उहाँ वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञका रूपमा कार्यरत रहनुभएको थियो।
डा. थापाले २०४४ सालमा स्वास्थ्य सेवामा प्रवेश गर्नुभएको हो। उहाँले आफ्नो सेवा अवधिमा दोलखा, ओखलढुङ्गा, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली र धादिङलगायतका जिल्लामा सेवा गर्नुभएको थियो।
स्वास्थ्य सेवामा योगदान पुर्याएबापत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७९ सालमा डा. थापालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको थियो। मन्त्रालयका विभिन्न कार्यदलमा रहेर उहाँले सङ्गठन संरचना, जनशक्ति प्रक्षेपण र उपचारसम्बन्धी कार्यमा समेत योगदान पुर्याउनुभएको थियो।
सिंहदरबार वैद्यखाना पछिल्लो समय औषधि उत्पादन बढाउँदै अघि बढेको छ। २०७७ सालमा १२ प्रकारका औषधि उत्पादन हुँदै आएकामा पछिल्लो विवरणअनुसार ८६ प्रकारका औषधि उत्पादन भइरहेका छन्। तीमध्ये ३० प्रकारका औषधि सरकारी औषधालयमा आपूर्ति हुँदै आएका छन्।