काठमाडौँ, ७ साउन ।
महिलाको उमेरलाई मुख्यतया तीन भागमा बाँडिएको छ । पहिलो महिनावारी हुनु भन्दा अगाडिको उमेर, दोस्रो महिनावारी चालु रहने उमेर र तेस्रो महिनावारी सुकेपछिको उमेर हो । सामान्यतया महिनावारी सुरु हुने उमेर औसतमा १३ (१५ वर्ष देखि महिनावारी सुक्ने औसत उमेर ४८(५० वर्ष महिलाको सबैभन्दा उत्पादनशील तथा जीवनोत्कर्षको समय हो। महिनावारी, ऋतुचक्र, नछुने, मिन्स, पिरियड, धर्म जे जे नामले पुकारे पनि महिला किशोरावस्थामा पुगे पछि प्राकृतिक रूपमा हुने मासिक धर्मलाई रजस्वला भन्ने गरिन्छ । रजस्वला भएको बेला शारीरिक तथा मानसिक स्तरमा अपनाउनुपर्ने संस्कार र नियमहरूको सङ्ग्रह नै रजस्वला परिचर्या हो ।
हिन्दु धर्म संस्कृति मान्ने समाजमा रजस्वला भएको समयमा नछुने बार्नुपर्ने नियम कडा छ । संयुक्त परिवारमा नछुने बार्ने कुरा सहज छ भने एकल परिवार, कामकाजी महिला भएको घरमा नछुने बार्ने कुरा कठिन बन्दै गएको छ । नछुने नबारेको वा बार्न नपाएको हीनताबोध र आत्मग्लानिबाट शरीरका अगंहरु रोगी हुने र पापको डर भय जस्ता मानसिक समस्याले सताउन सक्छ । महिनावारी बार्दै नबार्ने वा कठोरतापूरक बार्ने अति गर्ने तर्फ जानु भन्दा महिलाको स्वास्थ्य, व्यवहारिक सहज जीवनशैली र संस्कृतिको सम्मानको दृष्टिकोणबाट हेर्नु पर्दछ।
महिनावारी बार्ने प्रचलन भएको घर परिवारमा ३ दिन नछुने, चौथो दिन नुवाई धुवा गरेर घरको काम गर्ने र पाँचौँ दिन नुवाई धुवाई गरेर देव कर्म गर्न सक्ने चलन छ । यो वेला हलुका शारीरिक क्रियाकलाप मात्र गर्ने, सुपाच्य भोजन लिने र आराम गर्ने गर्नुपर्छ ।महिनावारी बार्नु वा नबार्नु आ(आफ्नो धर्म संस्कृति,पेसा व्यवसाय, परिवार संरचना र रीतिथिति परम्परामा आधारित हुन्छ । महिनावारी भएको वेला अपनाइने सरसफाइ, आराम र विशेष हेरचाहले स्त्रीजन्य रोगलाग्नबाट बच्न सकिन्छ ।
रजस्वलाको मासिक चक्र स्वस्थ्य र सन्तुलित नियमित छ भने, रक्त सफा शुद्ध छ भने शारीरिक वा मानसिक रूपमा स्वस्थ्यताको महसुस गर्न सकिन्छ । महिनावारीको समयमा अनिवार्य बार्नु पर्ने कठोरताका नियमले तथा अनावश्यक निषेधाज्ञाले बालिकारकिशोरीहरूमा गहिरो आघात पुग्दछ। महिनावारी हुनु भनेको अपवित्र हुनु हो, यस्तो समयमा छुनु भनेको पाप हो, वर्ष भरी जान अन्जानमा गरेको पापको प्रायश्चित स्वरूप श्रीपन्चमीमा व्रत बसेर पाप पखाल्नु पर्छ अन्यथा अधर्मी होइन्छ भन्ने मानसिकतामा हुर्किएका महिलामा अहिले पनि महिनावारी नबार्दा वा व्रत बस्न नसक्दा आफू पापको भारी बोकेर हिँडिरहेको महसुस हुने गरेको बताउँछन्। ।
प्राकृतिक धर्म अनुसार हुने शारीरिक परिवर्तनलाई स्वीकार गर्न नसक्ने, आफू स्त्री भएकोमा घृणा उत्पन्न हुने, भेदभावको महसुस गर्ने, आफ्ना स्त्रीलिङ्गिय अङ्गको बेवास्ता गर्नेसम्मको अवस्था रहन्छ। महिनावारी भएको बहानामा परिवार र समाजले गर्ने फरक व्यवहारका कारण किशोर मनोविज्ञानले आफू महिला भएकोमा गर्व नगर्ने, विद्रोह गर्ने, बार्ने चलनको अवज्ञा गर्ने, महिनावारी भएको कुरा लुकाउने, केटा जस्तो बन्न खोज्नेजस्ता व्यवहार गर्दछन्। । आधुनिक युगमा महिला स्वास्थ्यको मुख्य चुनौती बनेको स्तन र पाठेघर सम्बन्धी रोग हो। यो हुनुको अन्तर्निहित मनोविज्ञान महिला आफू स्त्री भएकोमा धिक्कार ठान्ने, स्त्रीलिङ्गिय अङ्गको स्याहार सरसफाइ नगर्ने,महिनावारीको समयमा हुने मानसिक समस्याको कारणले स्त्रीजन्य रोगको सिकार भइरहेका हुन्छन् ।
महिलाको प्रजनन प्रणाली तथा सन्तानोत्पादन कार्यमा मुख्यतया अस्ट्रोजेन र पाजेस्टोरोन हार्र्मोनले सहयोग गर्दछन्। मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थिमा उत्पादन भई रक्तप्रबाहको माध्यमबाट पाठेघरसम्म पुग्दछ र महिनावारी चक्रलाई नियमित गर्दछ। हर्र्मोनमा कुनै असन्तुलन भएमा महिनावारी गडबडी हुने गर्दछ। महिनावारी हुनु भन्दा पहिले वा भएको समयमा हुने विभिन्न शारीरिक र मानसिक असन्तुलनहरू जस्तै थकान, जिउ भारी हुने, जिउ चिलाउने, टाउको दुख्ने, हाल खुट्टा झम्झमाउने, ग्यास्ट्रिक बढ्ने, पेट फुल्ने, तल्लो पेट दुख्ने, वाकवाकी लाग्ने, अपच तथा कब्जियत हुने, हर्मोन असन्तुलन हुने, भावुक हुने, मुडमा उतारचढाव आउने, झर्को लाग्ने, अनियन्त्रित विचार आउने, नैराश्यता, उदासी, तनाव, चिन्ता, विषाद, आत्महत्याको विचार आउने सम्मको कुराहरू हुने गर्दछन्। महिनावारीको समयमा हुने यस्ता लक्षणलाईविश्व स्वास्थ्य सङ्गठनले एउटा मानसिक स्वास्थ्य समस्याको रूपमा लिएको छ।