• शनिबार, १ कात्तिक २०८३
  • images

    चिकित्सक सङ्घ र खल्तीबिच सम्झौता

    चिकित्सक सङ्घ र खल्तीबिच सम्झौता

    सङ्घका सदस्यलाई डिजिटल कारोबारमा विशेष सुविधा

    मंगलबार, भदौ ३० २०८३
    मंगलबार, भदौ ३० २०८३
    चिकित्सक सङ्घ र खल्तीबिच सम्झौता

    काठमाडौँ, ३० भदौ । नेपाल चिकित्सक सङ्घ र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेडबीच सङ्घका सदस्य चिकित्सकलाई विशेष डिजिटल, वित्तीय तथा स्वास्थ्यसम्बन्धी सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ।

    सम्झौताअनुसार नेपाल चिकित्सक सङ्घका सदस्यले खल्तीको वार्षिक विशेष सदस्यता २०० रुपियाँमा लिन सक्नेछन्। यो सुविधा सङ्घका सदस्य चिकित्सकका लागि मात्र उपलब्ध हुने जनाइएको छ।

    images

    विशेष सदस्यता लिएपछि चिकित्सकले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरमा रकम भर्दा दुई प्रतिशतसम्म रकम फिर्ता पाउने, दैनिक भुक्तानीमा दोब्बर अङ्क प्राप्त गर्ने तथा खल्तीबाट खल्तीमा रकम पठाउँदा असीमित निःशुल्क सेवा प्राप्त गर्ने सुविधा पाउनेछन्।

    त्यसैगरी सदस्यले महिनामा पाँच पटकसम्म कुनै पनि बैङ्क खातामा निःशुल्क रकम पठाउन सक्नेछन्। सदस्यता अवधिभर निःशुल्क डिजिटल कार्ड प्राप्त गर्नुका साथै विभिन्न व्यापारी तथा व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट र सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

    सम्झौताअन्तर्गत बीमा सेवामा विशेष छुटसहितका सुविधा, सवारीसाधनको नवीकरण तथा आवश्यक कागजातसम्बन्धी सेवामा घरमै लिनेदिने सुविधा, लक्ष्यअनुसार बचत गर्न सकिने व्यवस्था तथा निजी क्लिनिकका लागि खल्तीको विद्युतीय भुक्तानी सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

    यसैगरी खल्तीको विद्युतीय प्रणालीमार्फत चिकित्सक तथा सेवाग्राहीलाई अनलाइन चिकित्सकीय परामर्शको सुविधा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। आफ्नो ग्राहक पहिचान विवरण प्रमाणित गरेका सङ्घका सदस्यले दैनिक भुक्तानी तथा विद्युतीय कारोबारमार्फत विभिन्न वित्तीय बचत तथा सेवा सुविधा लिन सक्नेछन्।

    सम्झौतापछि नेपाल चिकित्सक सङ्घको सदस्य बन्न चाहने चिकित्सकले सदस्यता शुल्कसमेत खल्तीमार्फत भुक्तानी गर्न सक्नेछन्। सङ्घले आयोजना गर्ने सम्मेलन, कार्यक्रम तथा अन्य गतिविधिमा सहभागी हुन लाग्ने शुल्क पनि खल्तीबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

    नेपाल चिकित्सक सङ्घ र खल्तीबीच भएको सहकार्यबाट चिकित्सकलाई दैनिक वित्तीय कारोबारमा सहजता र आर्थिक बचत हुनुका साथै बीमा, बचत, सवारीसाधनसम्बन्धी सेवा, निजी क्लिनिकको विद्युतीय भुक्तानी तथा अनलाइन चिकित्सकीय परामर्शजस्ता सेवामा समेत पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

    सम्झौतापत्रमा नेपाल चिकित्सक सङ्घका तर्फबाट अध्यक्ष डा. बद्री रिजाल, वरिष्ठ उपाध्यक्ष डा. सञ्जीव तिवारी, महासचिव डा. विश्वराज दवाडी, कोषाध्यक्ष डा. संयुक्ता आचार्य र कार्यकारी सदस्य डा. राकेश शाहले हस्ताक्षर गर्नुभएको छ।

    त्यसैगरी आइएमई खल्ती लिमिटेडका तर्फबाट प्रमुख व्यवसाय अधिकृत आशिष गौतम, प्रमुख सञ्चालन अधिकृत पुष्पराज न्यौपाने, प्रयोगकर्ता वृद्धि प्रमुख दिनेश वस्ती, व्यावसायिक सम्बन्ध तथा संस्थागत मामिला प्रमुख निरज कार्की र व्यवसाय सञ्चालन अधिकृत अनिशा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार