काठमाडौँ, २५ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना नयाँ पदाधिकारी नियुक्त हुनुभएको छ। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा. विनम्र विष्ट नियुक्त हुनुभएको हो।
नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शपथपछि उहाँहरूले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नुभएको छ।
शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले प्रतिष्ठानको जिम्मेवारी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीहरूलाई इमानदारी, पारदर्शिता र सेवामुखी भावनाका साथ काम गर्न आग्रह गर्नुभयो।
उहाँले प्रतिष्ठानबाट कर्णालीलगायत दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै प्रतिष्ठानलाई थप व्यवस्थित र प्रभावकारी संस्थाका रूपमा अघि बढाउन पदाधिकारीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।