काठमाडौं, २१ साउन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. आशिष गोविन्द अमात्य नियुक्त हुनुभएको छ।
लामो समयदेखि केन्द्रमै कार्यरत उहाँ मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवाका अनुभवी चिकित्सकका रूपमा परिचित हुनुहुन्छ।
यसअघि केन्द्रको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका डा. अमात्यले अब देशकै विशिष्ट मुटुरोग उपचार संस्थाको नेतृत्व गर्नुहुनेछ।
उहाँको नियुक्तिसँगै केन्द्रको सेवा विस्तार, उपचारको गुणस्तर अभिवृद्धि तथा मुटुरोग उपचारलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
ललितपुरको कुपण्डोलमा जन्मनुभएका डा. अमात्यले प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स स्कुलमा चार कक्षासम्म अध्ययन गर्नुभएको थियो। त्यसपछि बुढानीलकण्ठ विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभयो। भारतको दि लरेन्स स्कुल, सिम्लाबाट उच्च माध्यमिक शिक्षा पूरा गर्नुभएका उहाँले ढाका विश्वविद्यालयअन्तर्गत बंगलादेश मेडिकल कलेजबाट सन् २००२ मा एमबीबीएस उपाधि हासिल गर्नुभएको हो।
एमबीबीएसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक वर्ष इन्टर्नसिप गर्नुभएका उहाँले सोही अस्पतालमा करिब एक वर्ष मेडिकल अधिकृतका रूपमा सेवा गर्नुभयो। त्यसपछि महाराजगञ्ज चिकित्सा क्याम्पसबाट एनेस्थेसियोलोजी विषयमा एमडी उपाधि हासिल गर्नुभयो।
एमडी अध्ययन सम्पन्न गरेपछि उहाँ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रजिष्ट्रारका रूपमा आबद्ध हुनुभयो। दुई वर्षपछि स्थायी नियुक्ति प्राप्त गरेपछि निरन्तर सोही केन्द्रमा सेवा दिँदै आउनुभएको छ।
केन्द्रमा कार्यरत रहँदा उहाँले मलेसियाबाट कार्डियाक एनेस्थेसियासम्बन्धी एक वर्षे फेलोसिपसमेत पूरा गर्नुभएको थियो। नेपालमा कार्डियाक एनेस्थेसियाका अनुभवी चिकित्सकमध्ये एक मानिनुहुने डा. अमात्यले एनेस्थेसिया सेवाको विकास, दक्ष जनशक्ति उत्पादन तथा जटिल मुटु शल्यक्रियालाई सुरक्षित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउनुभएको छ।
यसअघि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदका लागि सात जना उम्मेदवार सर्टलिस्टमा पर्नुभएको थियो ।