अस्पतालद्धारा शोकविदा दिने घोषणा
काठमाडौँ, २४ असार । शिर मेमोरियल एडभेन्टिस्ट अस्पताल, बनेपामा कार्यरत आईसीयू (सघन उपचार कक्ष)मा कार्यरत स्टाफ नर्स कामना श्रेष्ठको क्यान्सरका कारण उपचारकै क्रममा निधन भएको छ।
विगत चार महिनादेखि क्यान्सरको उपचार गराइरहनुभएकी श्रेष्ठको मंगलबार साँझ ६ः४४ बजे सोही अस्पतालमा निधन भएको हो।
नर्स श्रेष्ठका शुभचिन्तक तथा आफन्तहरुले दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ।
उहाँको निधनप्रति शिर मेमोरियल एडभेन्टिस्ट अस्पताल परिवारले गहिरो दुःख व्यक्त गर्दै छुट्टै श्रद्धाञ्जली सन्देश तथा शोक वक्तव्य जारी गरेको छ।
अस्पतालले जारी गरेको श्रद्धाञ्जली सन्देशमा स्वर्गीय श्रेष्ठलाई अस्पताल परिवारकी समर्पित, मेहनती, अनुशासित र सेवाभावी स्वास्थ्यकर्मीका रूपमा स्मरण गरिएको छ। अस्पतालले बिरामीको सेवाप्रतिको उहाँको समर्पण, सहकर्मीप्रतिको सहयोगी भावना तथा जिम्मेवारी निर्वाहको निष्ठा सधैँ स्मरणीय रहने उल्लेख गरेको छ।
अस्पतालले उहाँको असामयिक निधनले सम्पूर्ण अस्पताल परिवारले एक सक्षम, कर्मठ र प्रेरणादायी स्वास्थ्यकर्मी गुमाएको महसुस गरेको जनाउँदै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
यस्तै, अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत डा एन्जेला बस्नेतद्वारा जारी शोक विज्ञप्तिमा आईसीयू विभागमा कार्यरत नर्स श्रेष्ठको असामयिक निधनले सम्पूर्ण अस्पताल परिवारलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरिएको छ।
बिरामी सेवामा उहाँले पुर्याउनुभएको अमूल्य योगदानको उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।
दिवंगत श्रेष्ठप्रति सम्मान प्रकट गर्न अस्पतालले असार २६ गते एक दिनका लागि प्रशासनिक सेवा तथा बहिरङ्ग (ओपीडी) सेवा पूर्ण रूपमा बन्द रहने जनाएको छ। अस्पतालले बिरामी सेवामा कुनै अवरोध नगर्ने गरी आकस्मिक (इमर्जेन्सी) सेवा तथा भर्ना (आईपीडी) सेवा भने नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।
स्वास्थ्य क्षेत्रमा समर्पित भएर कार्यरत श्रेष्ठको असामयिक निधनले अस्पताल परिवार मात्र नभई उहाँसँग कार्यरत स्वास्थ्यकर्मी, सहकर्मी तथा शुभेच्छुकहरूलाई पनि स्तब्ध बनाएको छ। सामाजिक सञ्जालमार्फत धेरै स्वास्थ्यकर्मी तथा शुभेच्छुकहरूले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिरहेका छन्।
कामना श्रेष्ठले आईसीयूमा रहेर गम्भीर अवस्थाका बिरामीको उपचार तथा हेरचाहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो।
पारिवारिक स्रोतका अनुसार उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।