• आइतबार, १४ भदौ २०८३
  • images

    जलन उपचार सेवा विस्तार हुँदै, १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

    जलन उपचार सेवा विस्तार हुँदै, १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

    सोमबार, असार ८ २०८३
    सोमबार, असार ८ २०८३
    जलन उपचार सेवा विस्तार हुँदै, १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

    काठमाडौँ, ८  असार । मुलुकमा बढ्दो सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा रहेको जलनसम्बन्धी उपचार सेवालाई सहज, प्रभावकारी र सर्वसुलभ बनाउने सरकारी प्रयास कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

    सरकारले सार्वजनिक गरेको १०० दिनभित्र सम्पन्न गर्ने १०० बुँदे प्रतिबद्धताअन्तर्गत देशभरका प्रमुख अस्पतालमा जलन उपचार सेवा विस्तार तथा सुदृढीकरणको कार्य तीव्र रूपमा अघि बढाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मन्त्रालयको पहल र निर्देशनमा हालसम्म १४ वटा सङ्घीय अस्पतालमा जलन उपचार युनिट स्थापना भइसकेका छन्। त्यस्तै चारवटा प्रादेशिक अस्पतालमा आवश्यक शय्या व्यवस्थासहित सेवा सञ्चालनमा ल्याइएको छ।

    जलन उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई समेत प्राथमिकतामा राखिएको छ। यसअन्तर्गत हालसम्म १०९ जना स्वास्थ्यकर्मीलाई एकदिने अभिमुखीकरण तालिम तथा २१७ जनालाई छ दिन अवधिको विशेष जलन उपचार तालिम प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

    हाल कान्ति बाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलन उपचारका लागि छुट्टै वार्ड सञ्चालनमा रहेका छन्।

    यसैगरी गैरसरकारी क्षेत्रअन्तर्गत कीर्तिपुर अस्पतालमा विशेष जलन उपचार युनिट सञ्चालनमा छ। साथै धौलागिरी प्रादेशिक अस्पताल, सङ्खुवासभा जिल्ला अस्पताल, सुर्खेतस्थित प्रादेशिक अस्पताल तथा हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत जलन उपचारका लागि विशेष वार्डको व्यवस्था गरिएको छ। यससँगै देशभर १८ वटा अस्पतालमा जलन उपचार सेवा उपलब्ध भएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका प्रवक्ता डा. अधिकारीले जलनका बिरामीको उपचार सामान्यदेखि अत्यन्त जटिल प्रकृतिसम्मको हुने भएकाले छुट्टै जलन अस्पताल स्थापना गर्नुभन्दा बहुविशेषज्ञ सेवा उपलब्ध हुने सुविधा सम्पन्न अस्पतालभित्र नै विशेष जलन उपचार युनिट सञ्चालन गर्नु बढी प्रभावकारी हुने बताउनुभयो।

    उहाँका अनुसार जलनका बिरामीलाई उपचारका क्रममा प्लास्टिक सर्जरी, पुनःस्थापना सेवा तथा शरीरका संवेदनशील अङ्गसम्बन्धी विशेषज्ञ उपचारसमेत आवश्यक पर्ने भएकाले समग्र सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

    “जलनका बिरामीलाई आवश्यक पर्ने बहुआयामिक उपचार सेवा एउटै अस्पतालबाट उपलब्ध गराउन सकियो भने उपचार प्रभावकारी र सहज हुन्छ,” डा. अधिकारीले बताउनुभयो।

    उहाँले हाल विस्तार गरिएको सेवाले आम नागरिकलाई प्रारम्भिक जलन उपचारदेखि थप विशेषज्ञ सेवासम्म नजिकको अस्पतालबाटै प्राप्त गर्ने अवसर उपलब्ध गराएको उल्लेख गर्नुभयो।

    सरकार गठनपछि सार्वजनिक गरिएको १०० दिने प्रतिबद्धतामा प्रदेशस्तरमा सुविधा सम्पन्न जलन उपचार केन्द्रको अभावका कारण बढ्दै गएको मृत्युदर, अपाङ्गता तथा दीर्घकालीन पुनःस्थापनासम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यसहित जलन उपचार सेवालाई प्राथमिकतामा राखिएको थियो। सोही प्रतिबद्धताअनुसार अहिले उपचार सेवा विस्तार तथा स्वास्थ्यकर्मी क्षमता विकासका कार्यक्रम कार्यान्वयन भइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार