काठमाडौं, २६ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले सरकारको निर्णयअनुसार अब सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय लागू गरिएको जानकारी दिएको छ।
“सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि सोहीअनुसार अस्पतालमा पनि लागू गरिएको हो,” अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चैत २३ गते गरेको निर्णयलाई आधार मानेर बिदा कार्यान्वयनमा ल्याइएको हो।
कार्यकारी परिषद्को निर्णयपछि अस्पतालमा दुई दिन बिदा दिने व्यवस्था लागू गरिएको छ,” प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
अस्पतालले जारी गरेको सूचनामा शनिबार र आइतबार बाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको उल्लेख गरिएको छ।
प्रशासनले कार्यालय समयलाई व्यवस्थित बनाउन नयाँ समय तालिका लागू गरिएको बताएको छ ।
यद्यपि, बिरामीको सेवामा कुनै असर नपर्ने गरी अत्यावश्यक सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ।
“ओपीडी सेवा र शल्यक्रिया सेवा भने शुक्रबार पूरै समय सञ्चालन हुनेछन् भने अन्य दिन पनि आवश्यकताअनुसार निरन्तर सञ्चालन गरिनेछ,” अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले बिरामी तथा सेवाग्राहीलाई नयाँ समय तालिकाअनुसार सेवा लिन आग्रहसमेत गरेको छ।