रुपन्देही, १० चैत । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१, सिसैमा चुरोटको पैसा माग्दा भएको विवादले ज्यान लिने घटनामा रूप लिएको छ।
स्थानीय ६० वर्षीया रेनु पटवारको २ चैत राति हत्या भएको हो।
प्रहरीका अनुसार राति करिब ११ बजेतिर चुरोट किन्न आएका एक किशोरले पैसा नदिएपछि भएको विवादका क्रममा पसलमै रहेको कैँची प्रयोग गरी रेनुमाथि आक्रमण गरेका थिए।
टाउको, अनुहार र घाँटीमा गम्भीर चोट लागेपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे भोलिपल्ट बिहान जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय बुटवल र रन्यौराबाट खटिएको टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउँदै अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा एक किशोरको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आरोपी किशोर लागुऔषध सेवनकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले बयानका क्रममा चुरोट किनेर पैसा नदिँदा भएको विवादपछि आवेशमा आएर आक्रमण गरेको स्वीकारेका छन्।
घटनापछि उनी घर फर्किएर लुगा र शरीर सफा गरी सामान्य रूपमा बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। हाल उनलाई पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।