ताप्लेजुङ । श्रीमानले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको घटना सार्वजनिक भएको छ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा उक्त घटना घटेको हो।
फुङ्लिङ नगरपालिका–९ हाङ्देवा गाइगुडेका ५६ वर्षीय बलबहादुर साँबाले आफ्नी श्रीमती ५४ वर्षीया कान्छीमाया लिम्बूको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार शुक्रबार साझ ५ बजेतिर साँबाले कुटपिट गरी श्रीमतीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार घरायसी विवाद हुँदा साँबाले श्रीमतीमाथि अन्धाधुन्द कुटपिट गरेका थिए । कुटपिटकै क्रममा कान्छीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक कार्कीकै नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घटनाको मुचुल्का (विवरण) सङ्कलन गरी शव उठाएर सदरमुकाम फुङ्लिङ ल्याइएको छ ।
शुक्रबार राति करिव ८:३० बजे सव सदरमुकाम ल्याई पुराएर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । यता घटनामा संलग्न साँबालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।