काठमाडौं, २५ पुस । नेपाल चिकित्सक संघ (एनएमए)को कर्णाली उपाध्यक्षमा उम्मेदवारी दिनुभएका डा सरोज कुमार गिरीको पक्षमा अदालतले आदेश दिएको छ ।
उहाँको मनोनयन पत्र इमेलबाट आएको भन्दै निर्वाचन समितिले अस्वीकार गरेको थियो।
उहाँले 'टिम बद्री'को पक्षबाट उम्मेदवारी दिनुभएको थियो ।
डा गिरी आफूलाई अन्यायपूर्वक उम्मेदवारी दिनबाट रोकिएको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दिनुभएको थियो ।
उच्च अदालत पाटनले उहाँको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश दिँदै उम्मेदवारी अस्वीकृत हुनुको कारण माग गरेको छ।
न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले उक्त आदेश गरेको हो।
यसअघि 'टिम मंगल'का बागमती उपाध्यक्षका उम्मेदवार अरुण शाही र 'टिम रिफर्म'का वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा अजय मिश्रलगायत ६ जनाका पक्षमा अन्तरिम आदेश प्राप्त भइसकेको छ।
डा गिरीले आफ्नो मनोनयन पत्रमा देखिएको भनिएको रीत नपुगेको अवस्था सच्चाउन लगाउने प्रक्रिया पूरा नगरी सिधै अस्वीकार गरिएको दाबी गर्दै अदालत जानुभएको थियो।