जिल्ला प्रशासनले दलित पुष्टि नगरेपछि हट्यो सूचीबाट नाम
काठमाडौँ, २२ मंसिर । सजिलै चिकित्सा शिक्षा अध्ययन गर्नका लागि गैरदलितले पनि दलित कोटामा आवेदन दिने गरेको पाइएको छ ।
यसरी आवेदन दिएकामध्ये दुईजना दलित नभएको पुष्टि भएपछि चिकित्सा शिक्षा आयोगले दुई जना विद्यार्थीको नाम दलित सूचीबाट हटाएको छ ।
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी दुई जना विद्यार्थीको नाम दलित समूहबाट हटाएको हो ।
गत १० मंसिरमा प्रकाशित नतिजामा एमबीबीएस शैक्षिक कार्यक्रमका लागि सिम्वोल नं २६११२५६७, योग्यता क्रम २०८२का उम्मेद्धार राहुलकुमार चौरसिया र बी अप्ट्रोमेट्री शैक्षिक कार्यक्रमका लागि सिम्वोल नं २६१७२०५५, योग्यता क्रम ७४ का विष्णुकुमार ठाकुरको नाम दलित समूहबाट प्रकाशित भएको थियो ।
तर आयोगले ती दुई विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन भर्दा दलित कोटा उल्लेख गरेपनि जिल्ला प्रशासन कार्यलयबाट प्रमाणित कागजातमा दलित प्रमाणित नभए पछि दलित कोटाबाट हटाइएको हो ।
आयोगका कार्यकारी उपाध्यक्ष प्राडा. अञ्जनीकुमार झाले १० जना दलितमध्ये दुईजनाको नाम दलित नभएपछि हटाएको जानकारी दिनुभयो । उहाँले दलितलाई निश्चित कोटा छुट्याउने गरेको जानकारी दिदै उक्त कोटामा नाम निकाल्न सहज हुन्छ भनेर दलित सूचिमा फाराम भर्ने क्रम बढेको बताउनुभयो ।
दलितले पनि पोखरेल, कोइराला, घिमिरेजस्ता थर लेख्ने रहेछन्,जसले गर्दा दलित र गैरदलित छुट्याउन कठिन परेको उहाँको भनाई छ ।
उहाँले १० जना दलित भनेर दाबी गर्दै दलित कोटामा फाराम भर्नेमध्ये राष्ट्रिय दलित आयोगबाट दलित प्रमाणित गरेर ल्याएकाहरुको यथावत राखी दुईजनाको दलित समूहबाट हटाइएको बताउनुभयो ।
पछिल्लो समय दलित कोटाबाट सहज रुपमा नाम निकाल्न सकिने भन्दै कतिपय विद्यार्थीहरुले नक्कली डकुमेन्ट समेत बनाउने गरेका छन् ।
आयोगले यी दुई विद्यार्थीको नाम सूचीबाट हटाएको बारेमा सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।