सिकारु डाक्टरले शल्यक्रिया गर्दा आँखाको ज्योति गुमेको परिवारको गुनासो रहेको छ । अस्पतालविरुद्ध उजुरी परेपछि छानबिन सुरु गरिएको छ ।
विराटनगर, ७ मंसिर । विराटनगर ४ स्थित नोबेल शिक्षण अस्पतालमा गरिएको नाकको शल्यक्रियापछि सुनसरी इटहरी–१ हासपोसाका ७ वर्षीय जेनिस पाठकको दाहिने आँखाको ज्योति गुमेको छ ।
नाकभित्र पलाएको मासु हटाउने सामान्य प्रक्रिया मानिएको सर्जरीले बालकको भविष्य अँध्यारो बनाएको परिवारले आरोप लगाएका छन् ।
मंसिर ४ गते नाकको दाहिने प्वालमा पलाएको मासुको उपचार गर्न जेनिसलाई अस्पताल भर्ना गरिएको थियो ।
चिकित्सकको सल्लाहअनुसार मंसिर ५ गते शल्यक्रिया सम्पन्न भयो तर भोलिपल्टै अस्पतालले चकित पार्ने गरी हतार–हतार डिस्चार्ज गरेको परिवारको आरोप छ।
शल्यक्रियापछि भेट्न पुगेका आफन्तले जेनिसको दाहिने आँखा भित्र पसेको तथा ज्योति हराएको देखेका थिए।
मामा श्रीकृष्ण प्रसाईंले भन्नुभयो,“आँखाको ज्योति गुमिसकेको देखियो। त्यसपछि अस्पतालले छिटो–छिटो डिस्चार्ज गरिदियो। हामीलाई भनेका थिए डिपार्टमेन्ट हेडले अप्रेसन गर्छन्, तर पछि थाहा भयो सिकारु डाक्टरले सर्जरी गरेका रहेछन्।”
नोबेलले डिस्चार्ज गरेपछि परिवारले जेनिसलाई विराटनगर आँखा अस्पताल रानीमा लगे। आँखा अस्पतालका चिकित्सकका अनुसार दाहिने आँखाको भित्री भाग नोक्सान भएकाले दृष्टि फर्कने सम्भावना २ प्रतिशतभन्दा कम छ। “हड्डी नै निकालिएको कारण आँखामा गम्भीर चोट लागेको छ,” चिकित्सकहरूको भनाइ छ।
नोबेल शिक्षण अस्पतालसँग प्रतिक्रिया लिन खोज्दा प्रशासन प्रमुखले सम्पर्कमा आउन चाहेनन्। शल्यक्रिया गर्ने डा प्रज्वल श्रेष्ठले आँखाको समस्या देखिएको स्वीकार गर्दै पनि लापरबाही नभएको दाबी गर्नुभयो ।
अस्पतालविरुद्ध उजुरी, छानबिन सुरु
लापरबाही भएको दाबी गर्दै श्रीकृष्णले नोबेल शिक्षण अस्पताल, शल्यक्रिया गर्ने डा प्रज्वल श्रेष्ठ र कविराज बास्तोलालाई कारबाहीको मागसहित जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन्। उजुरीपछि जिल्ला प्रशासनले घटना प्रहरीलाई छानबिनका लागि पठाइसकेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विषय अत्यन्त गम्भीर रहेको जानकारी दिदै छानबिन भइरहेको बताउनुभयो । उहाँले प्रहरीको प्रतिवेदन आएपछि मेडिकल काउन्सिलसँग समन्वय गरी कारबाही अघि बढाइने उल्लेख गर्नुभयो ।