अर्को कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानी बेच्ने दुईजना पक्राउ
काठमाडौं । मानिसलाई अनिवार्य चाहिने खानेपानी पनि नक्कली आउन थालेको छ ।
बजारमा नक्कली खानेपानी छ्याप्छ्याप्ती हुँदा मानव स्वास्थ्यमा समेत ठूलो लापरबाही हुन थालेको छ ।
प्रहरीले विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा हालै दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको छ । थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाइएको छ ।
काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले पक्राउ परेकाको साथबाट १९७ वटा पानीको जार बरामद गरिएको जानकारी दिदै अन्य कम्पनीको ट्रेडमार्क भएको पानीको जार विक्री गर्न प्रयोग गरिएका दुई वटा गाडीलाई पनि प्रहरीले बरामद गरेको बताउनुभयो ।